बुटवल, बैशाख । उपत्यका बाहिर पहिलो पटक बुटवलमा मोवाईल मेला सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ अन्तरगत गठित मोवाईल बस्तुगत समितिले आयोजना गरेको सो मोवाईल एक्स्पो–२०७३ को शनिबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्नुभएको हो ।
मेलाको उद्घाटन गर्दै उहाँले सूचनाको सजिलो माध्यम मोवाईल प्रयोगमा जति सजिलो छ, त्यसको प्रयोगबाट आफ्नो सुरक्षा चुनौति पनि उत्तिकै भएकाले कसरी सुरक्षित रहन सकिन्छ त्यसका बारेमा ज्ञान हासिल गर्नुपर्ने बताउँनु भयो ।
मोवाईल बस्तुगत समितिका सभापति एलएम पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैंजु, आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेल, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, संघका महासचिव हरिप्रसाद अर्याल, सहसंयोजक बिनोद पौडेललगायतले भनाई राख्नुभएको थियो ।
६ गतेसम्म सञ्चालन गर्न लागिएको मेलामा ३२ ब्राण्डका ९ सय रुपैंयादेखि १ लाख रुपैंया मुल्यका ५ सय मोडल मोवाईल राखिएको सहसंयोजक पौडेलले बताउनु भयो । मेलामा २५ वटा स्टल बुकिङ् गरिएको छ । उपत्यका बाहिर पहिलो पटक गर्न लागिएको सो मेलामा ३० हजार दर्शक भित्र्याउने र एक करोड रुपैंयाको कारोवार गर्ने आयोजकले लक्ष्य लिएका छन् । मेलालाई आकर्षक बनाउनकालागि मेला भित्र हरेक मोवाईलको खरिदमा उपहार र छुट स्किम राखिएको छ । मोवाईलको कम्पनी अनुसार खरिदमा ५ देखि ३० प्रतिसतसम्म छुटको व्यबस्था गरिएको सचिव सुरेन्द्र भारीले बताउनु भयो । मेलाको प्रचार प्रसारमा उल्लेखनीय सहयोग पु¥याउने ३ जना पत्रकारलाई समापन समारोहमा पुरस्कृत गरिने पनि उहाँले बताउनु भयो । दर्शकको उपस्थितीलाई हेरेर २ दिन सम्म मेला अवधि लम्व्याउन सकिने आयोजकले बताएका छन् ।
२०१० सालमा स्थापित बुटवल उद्योग बाणिज्य संघले २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक औद्योगिक मेलाको सुरुवात गरेको थियो भने २०६२ देखि बिशिष्टकृत कृषि मेला र अघिल्लो वर्ष मात्रै बिशिष्टकृत रुपमा उपत्यका बाहिर पहिलो पटक जुत्ता मेला गरेको थियो । अहिले उपत्यका बाहिर पहिलो पटक मोवाईल मेला सुरु गरेको हो । मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।