बुटवल, बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वालकृष्ण खाँणले पार्टी सभापति शेरबहादुर देउवाले पनि मौन स्वीकृति दिएकाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताउनु भएको छ ।
सकेसम्म आगामी वर्षको वजेट ल्याउनु अगावै सरकार ढाल्न सके नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाएर आफू अनुकुलको बजेट ल्याउन सहज हुने पनि उहाँले बताउनु भयो । उहाँले अहिलेको सरकारले कर्मचारी, आर्मी, प्रहरी सबैलाई एमालेकरण गर्न खोजेकाले पनि एमाले अध्यक्ष ओलीलाई सरकारमा रहिरहने नैतिक अधिकार नभएको बताउनु भयो ।
मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको र संसदमा एक तिहाई बहुमत आफूसंग रहेकाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने जिकिर गर्दै उहाँले नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्रै जनपक्षिय नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनु भयो ।
यहि सरकारले बजेट ल्याएको खण्डमा उखान टुक्का जस्तै एमाले कार्यकर्ता मुखी बजेट आउने दावी गर्दै उहाँले जनपक्षिय बजेटकालागि पनि कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको उल्लेख गर्नुभयो ।
नेपाल स्वास्थ्य कर्मी संघको लुम्बिनी अञ्चल अधिवेशन तथा रुपन्देही जिल्ला भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै उहाँले महिला स्वास्थ्य स्वयम् सेविका नागरिकको पहिलो स्वास्थ्य कर्मी भएकाले उनीहरुको क्षमता बिकास र न्यायोचित सेवा सुबिधाकालागि सरकारले कार्यक्रम ल्याउन माग पनि गर्नु भयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मीहरुले आफूहरुकालागि बिशेष सुविधा प्रदान गर्न स्वास्थ्य सेवा ऐन आएपनि सरकारले ऐन कार्यान्वयमा गम्भिरता नदेखाएका कारण सो ऐनको बचाउ गरिरहनुको कुनै अर्थ नरहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल स्वास्थ्यर्की संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेले महिला स्वयम् सेविकाको उचित मुल्याङ्कन गर्न तथा बढुवा भएका स्वास्थ्यकर्मीलाई तत्काल समायोजन र पदस्थापन गर्न सरकारसंग माग गर्नुभयो ।
त्यस्तै संघका केन्द्रीय सहअध्यक्ष कृष्ण नागिलाले संगठन र व्यक्ति पिच्छे समस्या र समाधानका ब्याख्या फरक फरक हुने भएकाले सहि व्यबस्थापनकालागि मुल नीति राजनीति स्स्थ्य हुन आवश्यक रहेको औंल्याउनु भयो ।
संघका अध्यक्ष विश्वबन्दु विनयीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, रुपन्देही क्षेत्र नं. ४ का क्षेत्रीय सभापति हरि लम्साल, नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठ, संघका केन्द्रीय उपमहासचिव किरण ओली, केन्द्रीय सचिव दिपक भट्ट, नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खरेल, महिला स्वास्थ्य स्वयम सेविका तथा नेपाली कांग्रेस रुपन्देहीकी सदस्य मायाँ गौतम, डा. बिष्णुप्रसाद पौडेल, निजामति कर्मचारी युनियन(संघ) रुपन्देहीका सचिव चक्रपाणी पाण्डे, संघका अर्घाखाँची अध्यक्ष विश्वदीप न्यौपाने, अनिसा नेपाल लुम्बिनीका महासचिव मुक्तिराज पौडेल, संघका उपाध्यक्ष दयासागर पन्थीलगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद ढकालले गर्नुभएको थियो ।
नेपाल स्वास्थ्यकर्मी संघले रुपन्देहीका तीन जना पत्रकारलाई सम्मान गरेको छ । संघको गरिमा अझ माथि उठाउनकालागि पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान पु¥याएको भन्दै पत्रकारहरु कबिन्द्र नेपाल, श्यामशंकर पाण्डे र चन्द्रकान्त खनाललाई प्रशंशा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । उनीहरुलाई शनिबार बुटवलमा आयोजित संघको जिल्ला भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले दोसल्ला ओढाएर प्रशंशा पत्र प्रदान गर्नुभएको थियो ।