बुटवल, बैशाख । पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कमलसिंह बमले नागरिकको शान्ति सुरक्षा र अपराध नियन्त्रणकालागि प्रहरी सेवालाई प्रबिधियुक्त बनाईने बताउनु भएको छ ।
मुलुकमा शहरीकरण बढ्दै गएको तथा शहरकेन्द्रीत बसाई सराईका काण सुरक्षा चुनौति थपिंदै गएको स्मरण गर्दै उहाँले सिमित जनशक्तिकाबीच पनि सुरक्षा संवेदनशिलतालाई ध्यान दिएर प्रहरी सेवालाई प्रबिधियुक्त बनाउन लागिएको बताउनु भएको हो ।
पश्चिमाञ्चल बिकास क्षेत्रको सुरक्षा जिम्मेवारी सम्हालेपछि यस क्षेत्रका जिल्लाहरुको सुरक्षा अवस्था बुझ्न जिल्ला निरिक्षणमा रहनुभएका प्रहरी नायव महानिरिक्षक बमले सोमबार पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा आयोजित कार्यक्रममा जनसहभागितामा आधारित सुरक्षा रणनीति अंगाडी बढाएको पनि बताउनु भयो ।
सवारी दुर्घटना र लागु औषध सुरक्षा निकायकालागि चुनौतिको रुपमा देखा परेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रण गर्नकालागि नागरिक समाज र प्रहरी हातेमालो गरी अंगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
अपराधिक सञ्जालले नेपाललाई केन्द्रबिन्दु बनाएर संगठित रुपमा लागु औषधको कारोवार गरिरहेको प्रसंग उल्लेख गर्दै उहाँले दुव्र्यसनीमा फसेकाहरुलाई नियन्त्रण गर्नुभन्दा पनि नयाँ दुव्र्यसनी हुन रोक्नकालागि बिद्यालय तहमा सानो कक्षाबाटै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
आम नागरिकलाई प्रहरीप्रति बिश्वास दिलाउन तत्काल सेवा प्रवाह गर्नुपर्ने र कानुनी शासनको पालनाकालागि प्रहरी संगठन भित्र आन्तरिक शुद्धिकरणलाई जोड दिईएको उहाँले बताउनु भयो ।
कार्यक्रममा यस क्षत्रका उद्योगी, व्यबसायी, पत्रकारहरुले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी दरवन्दीमा बृद्धि गर्नुपर्ने, सुरक्षा चेकजाँचलाई प्रभारीकारी बनाउनु पर्ने, दुर्घटना पछि घाईतेलाई दिइने तेस्रो पक्ष घाईते बिमाको रकमलाई बढाउनु पर्नेलगायतका सुझाव राखेका थिए ।