वर्तमान सरकारले काम गर्न नसकेको खांणको आरोप

639

वर्तमान सरकारले काम गर्न नसकेको खांणको आरोप

बुटवल, बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी ओलीको सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाउँदै राष्ट्रिय सहमतिको सरकारका निर्माणकालागि मार्ग प्रसस्त गर्न आग्रह गर्नुभएको छ ।
संविधान कार्यान्वयनको प्रमुख जिम्मेवारी पाएको यो सरकारले संविधान कार्यान्वयन गर्ने काम तथा भूकम्पमा परि पिडित भएका जनतालाई राहतको कार्यक्रम सम्म सञ्चालन गर्न नसकेकाले सरकारमा रहिरहने नैतिक अधिकार नभएको बताउनु भयो ।
नेपाली कांग्रेसको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोमा उहाँलाई बधाई तथा शुभकामना प्रदान गर्न नेपाली कांग्रेस तिलोत्तमा ६ वार्ड समितिले कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा बोल्दै उहाँले यो सरकारको आयु अव धेरै नभएको पनि बताउनु भयो । उहाँले नेपाली कांग्रेसले यो जिम्मेवारी पाए मुलुकमा देखा परेका मुलुभूत सबै कुराहरु राम्रोसंग व्यबस्थापन गर्ने दावी गर्नुभयो ।
सोही अवसरमा नेपाली कांग्रेस तिलोत्तमा वार्ड नं. ६ को कार्यालय समेत उहाँले उद्घाटन गर्नुभयो । वार्ड सभापति प्रेमनारायण देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा श्यामसुन्दर तिवारीले स्वागत तथा सचिव बिजेश न्यौपाले सञ्चालन गर्नुभएको थियो । त्यस्तै नयाँ वर्षको शुभकामना पनि आदान प्रदान गरिएको थियो ।