कक्षा १२ को परीक्षा सुरु, लुम्बिनीमा दुइ हजार ६ सय बिद्यार्थी घटे

732

कक्षा १२ को परीक्षा सुरु, लुम्बिनीमा दुइ हजार ६ सय बिद्यार्थी घटे

बुटवल, बैशाख । उच्च माध्यमिक शिक्षा परिषदले लिने कक्षा १२ को बोर्ड परीक्षा सोमबारदेखि सुरु भएको छ । सुरु भएको कक्षा १२ को परीक्षामा लुम्बिनी अञ्चलबाट नियमित तर्फ २२ हजार १ सय १ र आंशिक तर्फ १५ हजार ३ सय ४० गरी कूल ३७ हजार ४ सय ४१ बिद्यार्थी सहभागि छन् ।

HSEB
अघिल्लो वर्ष ११ कक्षाको परीक्षा दिएका २४ हजार ७ सय २५ जना मध्ये २ हजार ६ सय २४ जना बिद्यार्थी कक्षा १२ को परीक्षामा सहभागि हुनकालागि फाराम नभरेको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । कक्षा ११ को परीक्षा दिएर बिचमै कक्षा छोड्ने बिद्यार्थी लुम्बिनी अञ्चलमा सबैभन्दा बढी रुपन्देहीको छ । जसमा रुपन्देहीमा अघिल्लो वर्ष परीक्षा दिएका मध्ये एक हजार ८४ जनाले बिचमै पढाई छाडेका हुन् । त्यसरी बीचमै कक्षा छोड्नेको संख्या नवलपरासीमा सात सय र पाल्पामा दुई सय ८४ जना रहेका छन् ।
यद्यपि अघिल्लो वर्षको तुलनामा यो वर्ष कक्षा ११ मा दुई हजार ७० बिद्यार्थी धेरै छन् । सुरु भएको कक्षा ११ र १२ को परीक्षामा रुपन्देहीका ३१ वटा परीक्षा केन्द्रमा ३१ हजार ७७ जना परीक्षार्थीले परीक्षा दिदैछन् । अर्घाखाँची जिल्लामा सबै भन्दा कम बिद्यार्थी रहेका छन् । अर्घाखाँचीका ७ वटा परीक्षा केन्द्रमा ४ हजार ५ सय ९६ जना बिद्यार्थीले परीक्षा दिँदैछन् । कक्षा ११ र १२ को परीक्षाको लागि लुम्बिनी अञ्चलमा ९१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उच्च माध्यमिक शिक्षा परिषद बुटवल कार्यालयका निमित्त प्रमुख नोगेन्द्र खनालले जानकारी दिनुभयो ।
परिषद बुटवल कार्यालयका शाखा अधिकृत बाबुराम भण्डारीका अनुसार कक्षा १२ को परीक्षा सकिएलगत्तै सुरु हुने कक्षा ११ को परीक्षामा लुम्बिनी अञ्चलबाट नियमित तर्फ २६ हजार ७ सय ९५ र आंशिक तर्फ ११ हजार ५ सय ४२ गरी ३८ हजार ३ सय ३७ जना बिद्यार्थी परीक्षामा सहभागी हुदैछन् ।