बुटवल, बैशाख । तिनाउ नदीको जलाधार संरक्षणका लागि उपल्लो तटीय क्षेत्रमा वृक्षारोपण गरी चुरे पहाडको उचित संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
समयमै तिनाउ नदीको जलाधार संरक्षणमा ध्यान नदिएमा हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनुको विकल्प नभएको उनीहरुको भनाई छ ।
तिनाउ संरक्षणको विषयमा राज्यका स्थानीय निकाय जिल्ला विकास समिति र नगरपालिका मौन रहेकोले तिनाउको जलाधार संरक्षणका लागि उपल्लो तटीय क्षेत्रमा वृक्षारोपण गर्नुका साथै चुरे पहाडमा हुने चुनढुङ्का उत्खननलाई तत्काल प्रतिवन्ध लगाउनुपर्ने आवश्यक्ता उनीहरुले औल्याएका छन् ।
तिनाउ जलाधार संरक्षण एवं वातावरणीय सेवा भुक्तानी विषयमा बुटवल उपमहानगरपालिकाको आयोजना र सामुदायिक समन्वय समिति दोभान पाल्पाको संयोजनमा बिहीबार बुटवलमा आयोजित छलफल कार्यक्रममा बोल्ने वक्ताले तिनाउ नदीको संरक्षणमा सामुहिक प्रयास जरुरी रहको बताए ।
समयमै तिनाउ जलाधारको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रमा रहेका चुरे र सामुदायिक वनहरुमा पोखरी निर्माण गरी चिस्यान गराई राख्नुपर्ने पनि उनीहरुले बताए । तिनाउ नदीको संरक्षणका लागि नदी आसपासमा वसेको मानव वस्तीलाई हटाउनुपर्ने र वृक्षरोपण गर्नुपर्ने उनीहरुको सुझाव छ ।
तीनाउ नदीमा आउने पानीको मुहान आसपासको क्षेत्रमा रहेको वस्तीका स्थानीयलाई सचेत गराई विषादीजन्य मल प्रयोग गर्नबाट रोक लगाउनुपर्ने उनीहरुले बताए ।
तल्लो र उपल्लो तटीय क्षेत्रका स्थानीय जनता, विभिन्न सामाजिक संघसंस्था, राजनीतिक दल, सामुदायिक वन, सरकारी तथा गैरसरकारी निकाय बिचको सहमतिमा पानीका मुहानहरुको संरक्षण गर्नुपर्नेमा उनीहरुको जोड छ ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत धुर्वबहादुर खड्काले तिनाउ नदी संरक्षणका लागि नगरपालिका सबैसंग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
उहांले तिनाउ जलाधारको संरक्षण गर्नुको विकल्प नभएकाले उच्च स्तरीय सर्वपक्षीय अधिकार सम्पन्न समिति गठन गरेर समेत काम गर्न सकिने बताउनुभयो ।
भू–गर्भ शास्त्री पे्रम पौडेलले तिनाउ नदीको संरक्षण गर्न जरुरी रहेको बताउंदै नदीको वहाव क्षेत्र अतिक्रमण भएको बताउनुभयो । उहांले तिनाउ नदीको वहाव क्षेत्र २ सय मिटर चौडार्ई हुनुपर्नेमा अहिले अतिक्रमण हुंदै गएकाले ५० देखि ६० मिटर मात्र चौडाई भएकाले समस्या देखिएको बताउनुभयो ।
कार्यक्रममा पाल्पा दोभान गाविसका सचिव टेकप्रसाद घिमिरे, बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनाल, खानेपानी संस्थान बुटवलका प्रमुख मोन भट्ट, एमाओवादीका हरि घिमिरे, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठ, नेपाली काँग्रेस पाल्पा दोभान गाविसका सभापति लालबहादुर थापा, एमाओवादीका नारायण थापा, यज्ञमूर्ती पाण्डे, कृष्ण पोखरेल, भक्ति लिगल लगायतले बोल्नुभएको थियो ।
सामुदायिक समन्वय समिति दोभान पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता र सचिव दलबहादुर गुरुङ्कको संचालनमा कार्यक्रम भएको थियो ।