परियार समाजको राष्ट्रिय सम्मेलनको तयारी पूरा

314

परियार समाजको राष्ट्रिय सम्मेलनको तयारी पूरा

बुटवल,  बैशाख । परियार सेवा समाजको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा तयारी तिव्र पारिएको छ । आउंदो बैशाख २७ देखि २९ गतेसम्म बुटवलमा राष्ट्रिय सम्मेलन हुन लागेकाले तयारी तिव्र पारिएको हो । पर्चा पम्पलेट तथा ब्यानर टाग्ने काम शुरु भएको आयोजकले जनाएका छन् । पुख्र्यौली सिप र कलाका धनी भएर पनि परियार (दमाई) हरु पछाडि परेको भन्दै एकताबद्ध बनाउन परियार सेवा समाजलाई थप व्यस्थित बनाउन लागिएको हो ।
केन्द्रीय आयोजक समितिका पदाधिकारीहरु बुटवल आउन थालेका छन् । परियार सेवा समाज पूरानो संस्था भएर पनि चलायमान हुन नसकेकाले यस पटक राष्ट्रिय सम्मेलनले संगठनलाई रुपान्तरण गर्ने समाजका केन्द्रीय सचिवालय सदस्य कृष्ण रणपालले बताउनुभयो ।
रुपन्देहीको बुटवलमा हुने राष्ट्रिय सम्मेलनका लागि परियार सेवा समाज रुपन्देहीले समन्वय गरिरहेको छ । खाना बस्न र कार्यक्रम स्थलको टुङगो लागेको स्थानीय व्यवस्थापन गरिरहेको परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपालीले बताउनुभयो ।
बुटवलमा ५० जिल्लाका करिब ६ सय परियारहरुको जमघट हुँदैछ । राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा जिल्ला समिति रुपन्देहीले शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । तीन दिनसम्म बुटवलमा चल्ने सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।