संरक्षणको अभावमा बेवारिसे अर्गली दरबार

701

 संरक्षणको अभावमा बेवारिसे अर्गली दरबार

पाल्पा, २३ बैशाख । पाल्पाको अर्गलीमा रहेको ऐतिहासिक अर्गली दरबार संरक्षणको अभावमा बेवारिसे बन्दै गएको छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले कालीगण्डकी किनारको धार्मिक क्षेत्र अर्गलीमा विसं १९९७ मा निर्माण गर्नु भएको दरवार यतिखेर संरक्षणको पर्खाईमा रहेको छ ।
सांस्कृतिक सम्पदाका रुपमा रहेको दरबारको यतिखेर संरक्षण हुन नसक्दा भग्नावशेषमा परिणत हुन थालेको छ । संरक्षणविहीन हुन पुग्दा दरबारका बहुमूल्य झ्याल ढोकाका खापा, इँटाहरु एकपछि अर्को गरी चोरी भइरहेको स्थानीय बताउछन् । दरबार संरक्षणविहीन हुँदा वर्षातमा छानाबाट पानी चुहेर प्रत्येक वर्ष भत्कने गरेको छ । जसका कारण दरवार जिर्ण बन्दै गएको छ ।
२००४ सालमा काठमाडौँमा जयतु संस्कृत आन्दोलनको सुरुवात भएपछि जुद्ध शमशेरले आफूमाथि पनि खतरा उत्पन्न हुन सक्ने सङ्केत पाएपछि भारततर्फ निर्वासित हुने क्रममा आफ्नो नातिनीलाई दरबार बकसपत्र गरिदिनु भएको थियो ।
तत्कालीन समयमा आफ्नो सुरक्षाका लागि जुद्ध शमशेरले आफ्नो नातिनी जनक राज्य लक्ष्मीको नाममा बकसपत्र गरिदिएका कारण हालसम्म यसको संरक्षण तर्फ कुनै पनि निकाय तथा समुदायको ध्यान नपुग्दा ऐतिहासिक धरोहरका रुपमा रहेको दरबार खण्डहरमा परिणत हुन पुगेको हो । झन्डै ६८ वर्षसम्म संरक्षणविहीन बन्न पुगेको दरबार संरक्षणका लागि कानुनी मापदण्ड पूरा गरी समुदायलाई हस्तान्तरण गरिनुपर्ने स्थानीय श्रीधर भट्टराईको भनाई छ ।