वन डढेलोको जोखिम र यसको व्यवस्थापन- युबराज कंडेल

1.4K

वन डढेलोको जोखिम र यसको व्यवस्थापन- युबराज कंडेल

ubaraj kandelगर्मीको शुरुवात संगै देशभरी आगलागी र डढेलोका घटनाहरु बढिरहेका छन् । एकातर्फ देशका वस्तीहरु दिनहु जलिरहेका छन् भने अर्को तर्फ नेपालको अमुल्य सम्पत्ति मानिने बनजंगल डढेलोमा परेर खरानी भैरहेको छन् ।. एक महिना यता नेपालका सबै जिल्लाहरु बाट डढेलोले वन सखाप पारेका खबरहरु आइरहेका छन् । तराई र चुरे पर्वतमा हरेक वर्ष डढेलोका घटनाहरु दोहोरिने भएपनि यसवर्ष उच्च पहाडी र हिमाली क्षेत्रमा समेत डढेलो लागेको भेटिएको छ.। वन तथा भू–संरक्षण मन्त्रालयले दुई साता अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार अहिले तराई चुरे क्षेत्रका ३६ जिल्लामा १६ लाख हेक्टर वन डढेलोको जोखिममा रहेको छ । अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को तथ्याङ्कअनुसार सन् २०१३ देखि हालसम्म नेपालको पूर्व र पश्चिमी क्षेत्रका तराई चुरे क्षेत्रमा बढी डढेलो लागेको देखिन्छ । अघिल्लो वर्ष डढेलो लाग्ने समयमा पानी परेकाले खासै क्षति नभए पनि यस वर्ष भने लामो समयसम्म पानी नपर्दा बैशाख पहिलो साता सम्म करिब तीन लाख २५ हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । भूउपग्रहीय नक्शामा आधारित रहेर वन मन्त्रालयले उपलब्ध गराउने दैनिक डढेलो सूचना अनुसार बैशाख १० यता थप २ लाख हेक्टर वनमा डढेलो लागेको छ । बैशाख २२ गते देशका विभिन्न ठाउमा भएको हल्का वर्षाले डढेलो नियन्त्रण गर्न केही सहयोग गरेको छ, तर यति बेला सम्म नेपालको वन क्षेत्रले अहिलेसम्म बेहोर्नु नपरेको नोक्सानी बेहोरिसकेको छ ।
अधिकांश डढेलोहरु मानवीय स्वार्थ र लापरवाहीले लाग्ने गरेका छन् । वन मन्त्रालयका अनुसार नेपालमा डढेलो लाग्नुमा ९९ प्रतिशत मानवीय कारण जिम्मेवार रहेको छ । त्यसैगरी ग्लोबल फायर मनिटरिंग सेन्टरका अनुसार नेपालमा लाग्ने डढेलोहरु ५८ प्रतिशत जानाजानी वा स्वार्थवश, २२ प्रतिशत लापरवाही र २० प्रतिशत दुर्घटना वा प्राकृतिक कारणले हुने गरेका छन् । वन्यजन्तुको शिकार गर्दा आगोको छेकवार लगाउने , दाउराको लागी आगो लगाएर रूख सुकाउने र वन फडानिका प्रमाणहरु नष्ट गर्न डढेलो लगाएको पाईन्छ । डढेलो लागेको ठाउँमा नयाँ घाँस राम्ररी उम्रने र च्याउ उत्पादन राम्रो हुने विस्वासमा मानिसहरुले जानीजानी जंगलमा डढेलो लगाउने गर्दछन् । कतिपय मानिसहरुले खेतवारिका झारपात हटाउन, खरवारी सफा गर्न र वन अतिक्रमण गर्नको लागी लगाएको आगो अनियन्त्रित भएर ठुलो डढेलोको रुप लिने गरेको पाईन्छ । नेपालमा घांसदाउरा गर्न वा अन्य कामले जंगल गएको बेला घुम्रपानकर्ताले चुरोट बिँडीको ठूटो ननिभाई फाल्दा र वनभोज खाएको आगो ननिभाई छोड्दा त्यो आगो घाँस दाउरामा सल्किएर डढेलोको रुप लिएको देखिन्छ ।
अचेल जंगलहरु अघोषित डम्पिंग साइट बनिरहेका छन् । जंगलमा फ्याँकिएका फोहरमैलामा प्लास्टिकजन्य पदार्थहरु, कागज, कपडा जस्ता बस्तुहरुक साथै गन्धक,बारुद, सलाई , लाइटर र पेट्रोलियम पदार्थ जस्ता उच्च प्रज्वलनशील पदार्थहरु समेत हुन्छन् । यस्ता पदार्थहरुमा आगोको झिल्का पर्नासाथ बल्ने र स्वप्रज्वलित समेत हुन् छन् । जंगलमा जति बढी फोहरमैला फैलिएको हुन्छ त्यति नै डढेलो बढ्दै जान्छ र फोहरमैलामा सल्किएको आगो लामो समयसम्म ननिभ्ने भएकोले वन डढेलो दोहोरिने खतरा धेरै हुन्छ । पछिल्लो समयमा बैज्ञानिक वन व्यवस्थापनको नाममा भैरहेका क्रियाकलापले समेत वन डढेलो बढाउन भूमिका खेलेको देखिएको छ । वन व्यवस्थापन भन्दै ठुलो मात्रामा थिनिंग गर्ने तर थिनिंग गर्दा निस्केको पातपतिंगर जंगलबाट नहटाउदा डढेलोले तिब्रता पाएको छ । अहिले बैज्ञानिक वन व्यवस्थापनको नाममा वनमा भएका कुकाठ प्रजातिका बुट्यानहरु सखाप पारेर हटाइएको छ । यस्ता बुट्यानहरु सधै हरियो हुने भएकोले विगतमा जंगलमा फैलिएको डढेलो नियन्त्रण गर्न ठुलो सहयोग पुगेको थियो । तर अहिले वनमा फायर लाईनको कामगर्ने यस्ता वनस्पतिहरु मासिएकोले डढेलो फैलिने गतिमा तिब्रता आएको छ.।
वन डढेलोलाई मानवीय,पर्यावरणीय र आर्थिक रूपमा घातक मानिन्छ । डढेलोको कारणले नया बिरुवाहरु हुर्कन बढ्न नपाउने, पुराना बिरुवाहरु सुक्दै जाने र जमिन सुख्खा भएर नया बिरुवा उम्रन नसक्ने प्रक्रिया केहि वर्ष दोहोरिईरहदा जंगल उजाडिदै जान्छ र अन्ततः जंगलमा मरुभूमिकरण प्रक्रिया शुरु हुन्छ । डढेलो लाग्दा वन्यजन्तुको वासस्त्थान र चरन क्षेत्र विनाश हुन्छ । ठुला जीवहरू केहि हदसम्म डढेलोबाट जोगिन सकिने भएपनि साना जीवहरू डढेलोबाट जोगिन सक्दैनन । हुर्कदै गरेका जीवजन्तुहरु पनि गुड र वासस्थान संगै जलेर खरानी हुन् पुग्छन् । यसवर्षको डढेलोले वन मात्र सखाप पारेको छैन , वन छेउका धेरै वस्तीहरु पनि डढाएको छ । डढेलोको आगो हावाहुरीको कारणबाट वस्तीमा फैलिदा अर्घाखाची, पाल्पा , गुल्मी, डोटी, सुर्खेत लगायतका जिल्लाहरुमा घरगोठ र भौतिक संरचनाहरुमा ठुलो असर पुगेको छ । डढेलोको कारणले खानेपानीका पाइपहरु जलेको र जलाधार क्षेत्र सुख्खा भएकोले नेपालका कतिपय पहाडी क्षेत्रका वस्तीहरुमा खानेपानी समस्या समेत उत्पन्न भैरहेको छ । डढेलो निभाउन जादा र डढेलोमा परेर लुम्बिनी अंचलमा मात्र पाँच जनाको असामयिक निधन भएको छ । यो गर्मि याममा मात्र नेपालमा डढेलोको कारणले दश जनाले ज्यान गुमाइसकेका छन् ।
कानुनी रुपमा नेपालमा डढेलो लगाउने कार्यलाई दण्डनीय अपराध मानिन्छ । वन ऐन २०४९ को दफा ४९ (ख)मा राष्ट्रिय वनमा कसैले पनि आगो लगाउन नहुने र यस्तो कार्य गरेमा बिगो बराबर असुल गरि दश हजार रुपैया सम्म जरिवाना वा एक वर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ( दफा ५० को उपदफा १ (ख) मा ) । त्यसैगरी “जीवन, भौतिक सम्पत्ति,जैविक विविधता र परिस्थितीक पद्धतिमा हुने क्षति न्यूनीकरण गर्दै वन उत्पादकत्व वृद्धि गर्न डढेलो व्यवस्थापन गर्ने“ मुख्य लक्ष्य राखेर वन मन्त्रालय ले डढेलो व्यवस्थापन रणनीति २०६७ तयार गरि लागु गरिएको छ. यो रणनीतिले वन सम्बन्धि योजना र कार्यक्रमहरुमा डढेलो व्यवस्थापनलाई अनिवार्य अंग बनाउने, सचेतना जगाउने, स्थानीय सहभागिता वृद्धि गर्ने जस्ता कुराहरु उल्लेख गरेको भएपनि अहिले सम्म यी कार्यहरु कागजमा मात्र सिमित रहेका छन् । जिल्ला स्थित वन कार्यालयहरुले डढेलो व्यवस्थापनका कार्यक्रमहरु बनाउने भएपनि साधन श्रोतको अभावल गर्दा उनीहरुका प्रयास सारथ हुन् सकेका देखिदैन. वन मत्रालायाले हरेक जिल्लामा डढेलो नियन्त्रणको लागि वर्सेनी करिब एक लाख छुट्टाउने गरेको छ । यो रकम त कार्यक्रम बनाउदा नै खर्च हुने भएकोले वन कार्यालयहरुले प्रभावकारी कार्य गर्न सकेका छैनन् ।
आगो लागेपछि कुवा खन्ने हतार भनेजस्तै नेपालमा डढेलोबाट वन खरानी भएपछी मात्र डढेलो व्यवस्थापनका चर्चाहरु चल्छन र अरु बेलामा डढेलोको जोखिम तर्फ कमैको मात्र ध्यान जाने गर्छ । हरेक वर्ष नेपालमा डढेलोका घटनाहरु बढ्दै गएको भएपनि डढेलो व्यवस्थापनको लागि ठोस पहल हुन् सकेको छैन । डढेलोले जलश्रोत, सिंचाई, खानेपानी, कृषि उत्पादन र भौतिक पूर्वाधार विकासमा प्रतिकुल प्रभाव पर्ने र यसले धेरै क्षेत्रलाई असर पार्ने भएपनि नेपालमा डढेलो नियन्त्रण वन मन्त्रालयको काम हो भनेर अन्य सरोकारवालाहरु पन्छिएको देखिन्छ । अहिलेसम्म स्थानिय सुरक्षा निकाय र स्थानीय वासिन्दाहरुले आआफ्नै ढंगले डढेलो नियनत्रणका कार्यहरु गरेको भएपनि यो कार्य व्यवस्थित समन्वयात्मक हुन नसकेको कारणले नियन्त्रण कार्य जोखिमयुक्त भएको देखिन्छ.।
डढेलो सरकारको मात्र समस्या नभएर स्थानीय वासिन्दाहरुको प्रत्यक्ष समस्या भएको र डढेलो संग स्थानीय वासिन्दाहरु बढी नजिक हुने भएकोले डढेलो नियन्त्रणमा पनि उनुहरुको नै मुख्य भूमिका हुने गर्दछ । आफ्नो वस्ती र वनलाई डढेलो र यसको दिर्घकालिन असरबाट जोगाउनको लागी सरकारी नीतिनियमको भर नपरी स्थानीय वासिन्दाहरु नै समन्वयात्मक ढंगले सक्रिय हुनु जरुरि छ । आगलागी भएपछी एकले अर्कोलाई सराप्नु भन्दा वर्षायाममा र हिउदमा नै वृक्षारोपण र वनको सरसफाइमा ध्यान दिने हो भने डढेलोलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

(yrkandel@gmail.com)