बुटवल, बैशाख । मुलुकको आर्थिक बिकासको मेरुदण्डको रुपमा रहेको सहकारीमा प्रविधीको प्रयोग गर्न सरकार सहयोगि बन्नुपर्ने नेपाली काँग्रेसका केन्द्रीय दसस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँणले बताउनु भएको छ । सरकारले अंङ्गिकार गरेको तिन खम्बे अर्थ नीतिलाई सार्थक बनाउनकालागि सहकारीलाई प्रविधीसंग जोड्न ढिला गर्न नहुने उहाँले बताउनु भयो ।
प्रभु समुहको आयोजना तथा नेशनल कोअपरेटिभ एलाईन्सको व्यबस्थापनमा शनिबार बुटवलमा गरिएको सहकारीको व्यबस्थापकीय बिकास एवं दक्षता अभिबृद्धि कार्यशाला गोष्ठिको उद्घाटन गर्दै नेता खाँणले सहकारीलाई प्रविधीसंग जोड्दा संस्थालाई चुस्त राख्न सकिने भनाई राख्नुभयो । सहकारीको वर्खीलापमा काम गर्नेलाई कानुनी दायरामा ल्याउन र जनताले गरेको लगानीको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले सहकारीको अनुगमनलाई प्रभावकारी बनाउनकालागि पनि सहकारीलाई नयाँ प्रविधी युक्त बनाउनु आजको आवश्यकता रहेको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै सहकारी विभागका उपसचिव नारायण ज्ञवालीले आफ्ना सहकारीका सदस्यहरुलाई व्यबसायिक सेवा प्रदान गर्नकालागि सहकारी सञ्चालन गरिने बताउँदै आफ्ना सदस्यहरुलाई व्यबसायमा अभिप्रेरित गर्ने कार्यक्रम सहकारीले सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले सरकारले तिखम्बे अर्थ नीति अवलम्बन गरेपनि सहकारी प्रति सरकारको प्रष्ट दृष्टिकोण नभएको बताउनु भयो । ‘नीति बन्छन्, तर कार्यान्वयन हुँदैनन् ।’ उहाँले भन्नुभयो–‘सहकारी प्रति सरकारको प्रष्ट दृष्टिकोण छैन ।’ सरकारले तिन खम्बे अर्थनीति अवलम्बन गरेपनि सहकारीले कहाँ कहाँ लगानी गर्ने भन्ने अन्योल रहेको उहाँले बताउनु भयो । यद्यपी सहकारीले संगठित गर्ने, सामुहिक भावनाको बिकास, प्रजातान्त्रिक पद्धतीको बिकास भने गराएको उहाँ बताउनु हुन्छ । सहकारीको माध्यमबाट अर्थ व्यबस्थामा सुधार गर्ने अवसर र सम्भावना छ । उहाँका अनुसार सहकारीको माध्यमबाट कृषि उत्पादनमा लगानी बढाउन आवश्यक छ । रुपन्देहीमा ७ सय ४१ वटा सहकारी छन् ।
प्रभु समुहका सञ्चालक दक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्र ढकाल, जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, नेशनल कोअपरेटिभ एलाईन्स रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँण, सचिव युवराज गिरीलगायतले भनाई राख्नुभएको थियो ।
जिल्लामा सञ्चालित बिभिन्न सहकारीबाट करिव २ सय बढी सहभागि रहेको एक दिन कार्यशाला गोष्ठिमा प्रभु सम्वद्ध कर्मचारीहरु केएन मिश्र, समिर तामाङ्, बिमल महतले प्रभु समुहले सहकारीमा लगाउने बिभिन्न प्रविधी र सेवा सम्बनी प्रशिक्षण दिनुभएको थियो ।