चिनीयाँ नागरिकको मुर्ति लुम्बिनी आयो

1.3K

चिनीयाँ नागरिकको मुर्ति लुम्बिनी आयो

lumbiniलुम्विनी, बैशाख । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनीमा चीनीयाँ नागरिक हुआन चाङ्को मुर्ती स्थापनाको तयारी भईरहेको छ । चीनदेखि उनको मुर्ती विहिवार लुम्विनी ल्याईएको हो ।
लुम्विनी विकास कोष तथा नेपाल सरकारको सहमतीमा चीनीयाँ गुम्वा सञ्चालकले चीनका वरिष्ठ बौद्ध भिक्षु समेत रहेका चाङ्को मुर्ती लुम्विनीमा स्थायी रुपमा प्रदर्शनी गर्ने तयारी गरिरहेका छन् । यहि जेठ ८ गते बौद्ध पुर्णीमाका दिन हुआनको पुर्णकदको दुईमिटर अग्लो मुर्ती अनावरण गरिनेछ । प्रर्दशनी स्थलको आकर्षक डिजाईनसंगै निर्माण कार्य अगाडी वढाईएको कोषका सदस्य सचिव अजितमान तामाङ्ले जानकारी दिनुभयो ।
चीनको हेनानमा सन् ६०२ मा जन्मिएका चाङ्ले एतिहासिक कालमा चीन, नेपाल र भारतमा पैदल यात्रा गर्दा देखेको बुद्धस्थलको यात्रा वृतान्तको ग्रन्थ बुद्ध दर्शनमा ठूलो महत्व ठानिएको छ । नेपाल भ्रमणमा त्यसवेला उनले देखेको लुम्विनी, कपिलवस्तु तिलौराकोट, कुदान, गोटिहवाको दुरी र हाल वैज्ञानिक अनुसन्धानमा फेला परेका तथ्यहरु मिलेका छन् ।
‘त्यसवेला उनले लेखेको ग्रन्थमा कपिलवस्तु गणराज्य तिलौराकोट र कुदानको दुरी १० लिई, गोटिहवा र कुदानको दुरी ६ लिई उल्लेख छ ।’ लुम्बिनी बिकास कोषका सदस्य सचिव सचिव तामाङले भन्नुभयो–‘वैज्ञानिक अनुसन्धानमा अहिले कुदान–तिलौराकोट ५ किलोमिटर, गोटिहवा–कुदान ३ किलोमिटरको दुरीको चाङ्को ग्रन्थसंग ठ्याक्कै मिल्न गएको छ ।’ यहाँ दुई लिईको एक किलो मिटर मानी गणना गरिएको छ ।
बौद्ध दर्शन सम्वन्धी दार्सनिक चीनीयाँ यात्री चाङ्ले नेपालको कपिलवस्तु, लुम्विनी, गोटिहवा, कुदान, भारतको बोधगया सारनाथलगायतको यात्रा विवरण ग्रन्थमा उल्लेख गरिएकाले यी ठाउ र बुद्धसंग सम्वन्धीत अन्य भ्रमहरु चिर्नमा धेरै महत्व र सहयोगी बनेको कोषका उपाध्यक्ष भिक्षु निरोध (सिद्धार्थ महर्जन)ले दावी गर्नुभयो ।
नेपाल सरकारले यसपटकको बुद्ध जयन्ती जेठ (६ देखि ८ गते) तीनदिनसम्म भव्य रुपमा काठमाण्डौं र लुम्विनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका रुपमा मनाउने तयारी गरिरहेको छ । उक्त अवसरमा चीन सरकारका तर्फबाट उच्चस्तरीय प्रतिनिधिहरु समेत लुम्विनी आउने तयारी गरिरहेको चीनीयाँ टेम्पलका पुराना एक भिक्षुले बताउनु भयो । सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भव्य र सभ्य रुपमा सञ्चालन गर्नका लागि परराष्ट्र मन्त्रालय तथा कोषका तर्फबाट संयुक्त राष्ट्र संघका महासचिव, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनलगायत ३६ देशका विशिष्ट व्यक्ति एवं कुटनीतिकहरुलाई निमन्त्रणाको पत्राचार गरीसकेको छ । विदेशका विशिष्ट व्यक्तिलाई निमन्त्रणा पत्राचार, स्वागत तथा सत्कार समन्वयका लागि सरकारले हालै वच्चु श्रेष्ठलाई अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सम्मेलन संयोजनका रुपमा नियुक्त गरेको छ । गोष्ठी ६ र ७ गते काठमाण्डौंमा संचालन हुनेछ भने जेठ ८ गते लुम्विनीमा बौद्ध सम्मेलन गरिने तयारी भईरहेको छ । अन्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारीका क्रममा कोषले लुम्विनी क्षेत्रमा रंगरोग, मर्मत संभार, सरसफाई र स्टेजको निर्माण कार्य थालेको छ ।
यसैविच बुद्ध जयन्तीका अवसरमा विभिन्न देशका भिआईपि तथा भिभिआईपिहरुको सुरक्षाका लागि नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी ईकाईको संयुक्त आयोजनामा स्थानिय, पर्यटक प्रहरी तथा पर्यटनसंग सम्बद्ध निकायहरु बिच छलफल थालिएको लुम्बिनी अंचलका प्रहरी प्रमूख शेरबहादुर बस्नेत जानकारी दिनुभयो ।