कालीगण्डकी तिनाउ डाईभर्सनको डीपीआर तयार हुन डेढ वर्ष लाग्ने

510

कालीगण्डकी तिनाउ डाईभर्सनको डीपीआर तयार हुन डेढ वर्ष लाग्ने

सुदिप भण्डारी
बुटवल, बैशाख । कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाको बिस्तृत अध्ययन प्रतिवेदन तयार हुन अझै डेढ वर्ष लाग्ने भएको छ । संसदमा आइतबार प्रस्तुत आर्थिक वर्ष २०७३÷०७४ को नीति तथा कार्यक्रममा कालीगण्डकी तिनाउ डाइभर्सनको अध्ययन एवं कार्यान्वयन अघि बढाइने उल्लेख छ ।

nadi

आर्थिक वर्ष २०७२÷०७३ को नीति तथा कार्यक्रममा पनि बिस्तृत अध्ययन र परियोजना प्रस्ताव तयार गर्ने उल्लेख गरिएको थियो । कालीगण्डकी तिनाउ बहुउदेश्यीय आयोजना अन्तर्गत हाल सम्म पूर्व सम्भाव्यता अध्ययन र भौगर्भीक अध्ययनको काम मात्र सकिएको छ । विस्तृत सम्भाव्यता अध्ययनको लागि परामर्शदाता छनोटको काम भइरहेको सिँचाई विभागले जनाएको छ । अहिले सर्ट लिस्टमा ६ वटा परामर्शदाता छनोट गरी उनीहरुबाट प्रस्तावना माग गरिएको र सोही मुल्यांकनका आधारमा छनोट गरिने सिँचाई विभागका सम्भाव्यता अध्ययन शाखाका प्रमु्ख कैलाश श्रेष्ठले जानकारी दिनुभयो ।
छनोट भइसकेपछि परामर्श दातालाई विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्न आगामी साउन महिना देखि लागु हुने गरी १५ महिनाको समय दिइने छ । जस अनुसार बिस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन २०७४ कात्र्तिक भित्र तयार गर्नुपर्ने हुन्छ । त्यसपछि निर्माणको काम पुरा हुन ६ देखि ७ वर्ष लाग्ने अनुमान गरिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा र स्यांङ्जाको सिमाना राम्दीपुलबाट डेढ किलोमिटर तल पाल्पाको पिपलडाँडा गाविस ७ बाट डाइभर्सनको लागि सुरुङ सुरु हुने छ ।  ३० किलोमिटर लामो सुरुङबाट पाल्पाको दोभानमा  कालीगण्डकीको पानी खसालिने छ । ९ मिटर चौडा सुरुङमार्फत ८१ दसमलब ९६ क्युसेक पानी प्रवाह हुने छ । आयोजना अन्तर्गत १ सय ४ मेघावाट विद्युत पनि निकालिने विभागका सम्भाव्यता शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । विद्युत उत्पादनको लागि दोभानमै पावरहाउस निर्माण गरिने छ । पावर हाउसबाट निस्केको पानी दोभानबाट फेरी अर्को सुरुङमार्फत बुटवल पश्चिम बेलबासमा पानी खसालिने छ । कालीगण्डकी तिनाउ आयोजना सम्पन्न भएपछि रुपन्देही, नवलपरासी र कपिलबस्तुका १ लाख ६ हजार ६ सय हेक्टर भूमि सिञ्चित हुनेछन् । यी ३ जिल्लामा कुनै ठूला नदि नभएकाले भोलीको पानीको संकट टार्न यो आयोजनाको लागि आफूहरुले पहल गरेको रुपन्देही क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व सिँचाई मन्त्री बालकृष्ण खाँणले बताउनुभयो । सिँचाई आयोजनाको लागि १८ अरब ४८ करोड लागत अनुमान गरिएको छ । त्यसबाहेक हाइड्रोपावरको लागि भने २१ अरब ६२ करोड लाग्ने छ ।
रुपन्देही लगायतका तराईका विभिन्न स्थानमा जनसंख्याको तिब्रतर बृद्धि भइरहेको छ । बृद्धिसँगै आउने भोलीको खानेपानीको संकट टार्न पनि कालीगण्डकी तिनाउ आयोजना उपयोगि हुन सक्छ । डाइभर्सन भएर आउने ८१ दसमलब ६ क्युसेक पानी मध्ये ७५ दसमलब ९६ क्युसेक सिँचाईको लागि र ६ क्युसेक खानेपानी र औद्योगिक प्रयोजनको लागि प्रयोग गरिने छ ।
कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाको पाल्पा र स्याङजा जिल्लाका केही स्थानीयले विरोध पनि गरेका छन् । उनीहरुसँग छलफल भइरहेको र आयोजना स्विकार्ने अवस्थामा रहेको पूर्व सिँचाई मन्त्री खाँणले बताउनुभयो । ठूला नदिबाट सुख्खा क्षेत्रमा केही मात्रामा पानी लैजाने खालका आयोजना अन्यत्र पनि भएकोले विरोध गर्न आवश्यक नभएको उहाँले बताउनुभयो । कालीगण्डकीको पानी तिनाउमा आएमा कृषि उत्पादन बढ्नुका साथै यस क्षेत्रको विकास समृद्धिमा पनि सघाउ पुग्ने खाँणको भनाई छ ।
तिलोत्तमा दैनिकबाट