मुक्तिप्रसाद न्यौपाने
पाल्पा, २९ बैशाख । जिल्लामा पछिल्लो समय डढेलोको घटना बढ्दै गएपछि वन क्षेत्रको संरक्षण र संवद्र्धनमा सामुदायिक वनका उपभोक्ताहरुलाई जिम्मेवार बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् ।
वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया गोष्ठीका सहभागीहरुले पनपैदावारहरुको विनास हुँदै गएको बताएका हुन् । बुधवार जिल्ला वन कार्यालय पाल्पाले आयोजना गरेको गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले सरकार र नीजि क्षेत्रको साझेदारीका वन कार्ययोजना बनाउनु पर्ने बताउनु भयो । उहाँले स्रोत साधन तथा प्रविधिको अभावमा काम गर्नुपर्ने भएकोले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने समेत उल्लेख गर्नुभयो ।
पाल्पाका प्रहरी उपरिक्षक हरीराज वाग्लेले पाल्पाका ९० प्रतिशत वन्यजन्तु आगालागीबाट नष्ट भएको बताउँदै सामुदायिक वनको संयन्त्र कमजोर हुँदा समस्या बल्झिएको दावी गर्नुभयो । सोही अवसरमा पत्रकारहरुले सामुदायिक वनका उपभोक्ताहरुले डढेलोलाई घाँसपाँतको अवसरको रुपमा लिएर पनि डढेलो लगाउने गरेकोले सचेतना अभिवृद्धि गर्नुपर्ने बताएका थिए ।
जिल्लाको दोभान, मस्याम र कचल गाविसको वनक्षेत्रबाट खानी उत्खनन भै निकासी भैरहेको जिल्ला वन कार्यालय पाल्पाका प्रमुख दधिराज कंडेलले बताउनु भयो । खानी तथा भूगर्भ विभागको स्वीकृतिमा पाल्पाको खानीजन्य पदार्थ निकासी भैरहेको हो । वन मन्त्रालयले वन क्षेत्र उपलब्ध गराउने र उद्योग मन्त्रालयको स्वीकृति पछि खानी विभागले स्वीकृति दिने गरेको जिल्ला वन अधिकृत कडेलले बताउनु भयो ।
पाल्पाका स्थानिय विकास अधिकारी कृष्णप्रसाद पाण्डेले खानी प्रयोग हुँदा जिल्लामा आन्तरिक आम्दानी ५० प्रतिशत गर्न पाईने व्यवस्था स्थानिय स्वायत्त शासनमा भएको बताउँछन् । उहाँ भन्नुहुन्छ–‘जिल्लाले रोयल्टी वापतको रकम आगामी आर्थिक वर्षदेखी लिने प्रयास गरिरहेकोले निकासी करमा सबैले ध्यान दिनु जरुरी छ ।’
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले सामुदायिक वनको क्षेत्रबाट खानी निकासी र उत्पादनको अवस्था सार्वजनिक गर्नुपर्ने बताउनु भएको थियो । उहाँले खानीको दोहोन भैरहँदा वातावरणीय पर्यावरणमा समेत खलबल पुगेको बताउनु भयो । प्राकृतिक प्रकोपको यसरी विनास हुनु र स्थानियले लाभ पाउन नसक्नु विडम्बना भएको सामुदायिक वन संरक्षण समिति दोभानका अध्यक्ष राजेश श्रेष्ठ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ–‘माटो परीक्षण गरेर काम अगाडी बढाएको उत्खननकर्ताले बताएपनि हामीलाई धेरै असर पारेको छ ।’
जिल्लामा कुल ६ सय ५० वन ७१ हजार १ सय ७० हेक्टरमा फैलिएको जिल्ला वन कार्यालय पाल्पाका प्रमुख दधिराज कंडेलले बताउनु हुन्छ ।