काठमाडौं । आज २३ औं मदन–आश्रित स्मृति दिवस, नेकपा एमालेले विभिन्न कार्यक्रमको आयोजना गरि मदन-आश्रित दिवस मनाउँदै छ । २०५० सालमा आजकै दिन अर्थात् जेठ ३ गते जीप दुर्घटनामा निधन भएका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक वर्ष जेठ ३ गते एमालेले स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
पुरानो केन्द्रीय कार्यालय बल्खुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ‘माल्र्यापण तथा श्रद्धाञ्जली’ र दिउँसो १२ बजेपछि राष्ट्रिय नाचघर जमलमा विचार ‘गोष्ठी’ आयोजना गरिएको एमालेले जनाएको छ ।
जनताको बहुदलीय जनवादका व्याख्याता जननेता भण्डारी र आश्रितको चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएको हो । जीवराज आश्रितको मृत अवस्थामा गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिनपछि मात्र शव भेटिएको थियो ।
घटनाको छानबिन गर्न विभिन्न आयोगहरू बनेपनि यथार्थ अहिलेसम्म बाहिर आउन सकेको छैन ।
नेकपा एमाले २०५१, २०५४, २०५७, २०६३, २०६६, २०६८, २०७० र २०७२ सालमा एमाले सरकारमा सहभागी भयो भने माधव नेपाल, झलनाथ खनाल र केपी ओली सहित अहिले सम्म एमालेका चार जना मुलुकको प्रधानमन्त्री भए । घटनाको वास्तविक छानबिन हुन नसक्दा रहस्य अहिले पनि बाहिर आएको छैन । पटक–पटक एमालेकै सरकार बन्दा पनि दासढुङ्गा घटनाको छानबिनमा चासो नदिइँदा पार्टीभित्र आलोचना पनि हुनेगरेको छ ।भण्डारीको निधनपछि सक्रिय राजनीतिमा प्रवेश गरेकी भण्डारी पत्नी विद्यादेवी भण्डारी एमाले उपाध्यक्ष हुँदै हाल मुलुकको राष्ट्रपति रहेकी छन् ।