प्रधानमन्त्री ओलीलाई देउवाको चुनौती, ‘५ सय सम्मको भएपनि बनाएर देखाउ’

251

प्रधानमन्त्री ओलीलाई देउवाको चुनौती, ‘५ सय सम्मको भएपनि बनाएर देखाउ’

congressबुटवल, जेठ । प्रधानमन्त्री केपी ओलीले लुम्बिनीमा एक वर्ष भित्रमा ५ हजार क्षमताको सभाहल निर्माण गर्ने घोषणा गरेको २४ घण्टा बित्न नपाउँदै नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ५ सय क्षमताको मात्रै भएपनि सभाहल निर्माण गर्ने चुनौती दिनुभएको छ ।
उहाँले प्रधानमन्त्री ओलीमा काम गर्ने नभई जनतालाई झुटा आश्वासन दिएर सत्तामा रमाउने प्रबृत्ति रहेको भन्दै ५ हजार क्षमताको सभाहल बनाउने झुटो आश्वासन भएको जिकिर गर्नुभयो ।
नेपाली कांग्रेस रुपन्देहीले आईतबारेदखि भैरहवामा आयोजना गरेको संविधानको कार्यान्वयन र नेपाली काँग्रेसको भूमिका बिषयक अगुवा कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीका कुनै पनि कुरा विश्वास गर्नु योग्न नभएको दावी गर्नुभयो ।
शनिबार लुम्बिनीमा भएको बुद्ध जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्ष भित्रमा लुम्बिनीमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने घोषणा गर्नुभएको थियो ।
सो घोषणा जनता झुक्याउनकै लागि भएको काँग्रेस सभापति देउवाको आरोप छ । मुलुकमा तमाम समस्याहरु रहेको र अंगाडीका समस्या समाधानको कुनै काम नगरि झुटा आश्वासनले मुलुकका यावत समस्याको समाधान हुन नसक्ने उहाँले बताउनु भयो । मुलुकका समस्या समाधान गर्न सरकारले सम्बोधन गर्न आवश्यक सहरको बताउँदै उहाँले मधेश समस्या समाधानकालागि नेपाली काँग्रेसले नेतृत्व लिने बताउनु भयो ।
प्रमुख प्रतिपक्षि दल वैकल्पिक सरकार समेत रहेकाले ओली सरकारको विकल्प खोज्नु कुनै आश्चर्य नभएको बताउनु भयो । ‘प्रतिपक्षमा बस्यो भन्दैमा ओली सरकार टिकाउन भूमिका निर्वाह गर्नुपर्छ भन्ने छैन । प्रमुख प्रतिपक्षि भनेको वैकल्पिक सरकार पनि हो ।’ उहाँले प्रश्न गर्दै भन्नुभयो–‘सरकारमा रहेको दलले ढलाउन भन्छ, प्रतिपक्षमा रहेको दलले बचाउँछ त ?’
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपाली काँग्रेस, लोकतन्त्र र तराई बिच अन्योन्यास्रित सम्बन्ध रहेकाले तराईको समस्या नेपाली काँग्रेसले मात्रै समाधान गर्न सक्ने बताउनु भयो । सरकारमा रहेका दलहरुले राष्ट्रवादको खोक्रो नारा लगाएको आरोप लगाउँदै उहाँले दुनियाँका कुनै पनि कम्युनिष्टहरु राष्ट्रवादी हुनै नसक्ने जिकिर गर्नुभयो ।
अहिले मुलुकका कम्युनिष्ट शक्तिहरु काँग्रेसलाई सिध्याउने खेलमा लागेको आरोप लगाउँदै नेता खाँणले २००७ सालदेखि काँग्रेसलाई सिध्याउने खेलमा लाग्दा राण र राजा आफै सिद्धिएको र काँग्रेसलाई सिध्याउन खोजे कम्युनिष्ट पनि आफै सिद्धिने चेतावनी दिनुभयो ।
त्यस्तैगरी अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले पहिले जुन रुपमा प्रजातन्त्र खतरामा थियो अहिले पनि कुनै न कुनै रुपमा प्रजातन्त्र÷लोकतन्त्र खतरामा रहेको उल्लेख गर्नुभयो ।
कम्युनिष्टका कारण अहिले खतरामा रहेको प्रजातन्त्र÷लोकतन्त्रको रक्षा गर्दै मुलुकको भविश्यलाई सहि ट्रयाकमा ल्याउने जिम्मेवारी काँग्रेसको रहेको बताउनु भयो । मधेशी जनताले उठाएका मागलाई सहि रुपमा सम्बोधन गर्न जरुरी रहेको र त्यसलाई सहि रुपमा व्यबस्थापन आवश्यक रहेको उहाँले बताउनु भयो । संविधानमा आफ्ना भावना नसमेटिएको भनेर मधेशमा बिरोध भईरहेको तर्फ ईँगित गर्दै उहाँले भन्नुभयो–‘यति प्रतिसतले हस्ताक्षर गरेको संविधान भनेर एमाले चुप लागेर बस्ला तर काँग्रेस चुप लागेर बस्न सक्दैन ।’
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल, पार्टीका नेता तथा सांसद भरतकुमार शाह, हरिप्रसाद नेपाल, पूर्व मन्त्री दुर्योधन सिंह चौधरी, नवलपरासीका सभापति विष्णु लामिछाने, क्षेत्र नं. २ का क्षेत्रीय सभापति मात्रिका यादव, सैनामैना नगर समितिका सभापति रामप्रसाद अधिकारी, नेपाल बिद्यार्थी संघकी केन्द्रीय सदस्य जमुना ढकाललगायतले भनाई राख्नुभएको थियो । जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण खाँणले गर्नुभएको थियो ।
पार्टीका अगुवा कार्यकर्ताकालागि आयोजना गरिएको दुई दिनसम्म चल्लने सो प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य गगनकुमार थापा, विश्वप्रकास शर्मा, प्रशिक्षक महेश दाहालले प्रशिक्षण गर्नुहुनेछ ।