बुटवल, असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम आक्रमणमा बुटवलका जितेन्द्र थापा मारिएका छन् । छोराको न्वारन गरेर काबुल गएका थिए । गएको चार महिनामै परिवारमा बज्रपात प¥यो ।
४१ बर्षीय उनी बुटवल १३ देवीनगरका हुन् । गत फागुनमा उनी दोश्रो पटक काबुल गएका थिए । झण्डै १८ वर्ष भारतीय सेनामा काम गरेका उनले एक वर्ष इराकमा काम गरेका थिए । पछि करिब चार वर्षअघि अफगानीस्थानको काबुल पुगे । साढे दुई वर्ष बिताएर घर फर्केका उनी फेरि काबुल गएका थिए । उनका दुई श्रीमती र दुई छोरा छन् । जेठी पत्नी गोमती थापा र एक छोरा छन् बुटवलमा बस्छन् । कान्छी पत्नी संजीता लामा भने काठमाडौमा बस्छिन् ।
दुई वर्षअघि विवाह गरेका उनीपट्टी पनि ५ महिने छोरा छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले धेरै प्रयासपछि मात्रै उनको घरबारे पत्ता लगाउन सकिएको बताए । सञ्चारका माध्ययबाट श्रीमान मारिएको थाहा पाएकी कान्छी श्रीमती संजीताले घटनापछि शोक र अन्यौलमा परेको बताईन । टेलिफोन कुराकानीमा उनले शब कसरी ल्याउने भन्ने बारेका अन्यौल परेको र त्यसबारे कसैले नसोधेको गुनासो गरिन । उनले भनिन् ‘अहिलेसम्म कसैले शब कसरी ल्याउने भनेका छैनन् । के गर्ने ? कसलाई सोध्ने केही थाहा छैन ।’ जितेनका बाबु आमा भने छैनन् ।