ग्यासका दोषीउपर कारबाही गर्न सरकारलाई मानव अधिकार आयोगको पत्राचार

481

ग्यासका दोषीउपर कारबाही गर्न सरकारलाई मानव अधिकार आयोगको पत्राचार

काठमाडौँ, असार । राष्ट्रिय मानव अधिकार आयोगले एलपी ग्यास विस्फोट भई मृत्यु र घाइते भएकालाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कारबाही गर्न सरकारलाई पत्राचार आग्रह गरेको छ ।

हालै एलपी ग्यास विस्फोट भई ललितपुर र काठमाडौँमा मृत्यु भएका तथा घाइतेलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर आवश्यक कारबाही गर्न आयोगले नेपाल सरकारलाई पत्राचार गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उपभोक्तासमक्ष पुग्ने सबै प्रकारका ग्यास सिलिन्डरको नियमित र प्रभावकारी गुणस्तर परीक्षण गरी अनुगमन र निरीक्षण गर्न÷गराउन, उपभोक्ता हित संरक्षण नियमावली २०५६ को नियम ५५ बमोजिम एलपी ग्यास सिलिन्डरको न्यूनतम मापदण्ड तोकी सोको प्रभावकारी रुपमा कार्यान्वयन भए÷नभएको अनुगमन गर्नसमेत आयोगले सरकारसँग आग्रह गरेको छ ।

आयोगले आज उपभोक्ता हकअधिकारको विषयमा सरोकारवाला संस्थाबीच छलफल गरी आम उपभोक्ताको स्वास्थ्यसम्बन्धी अधिकार र दैनिक जीवनमा अत्यावश्यक एलपी ग्यासको आपूर्ति र गुणस्तरको सुनिश्चितताको विषयमा चासो प्रकट गरेको छ ।

एलपी ग्यासजस्तो दैनिक उपभोग्य वस्तुको आपूर्ति, वितरण, नापतौल र गुणस्तरको विषयमा आम उपभोक्तामा सचेतनाको अभाव देखिएकाले सुसूचित गराउनसमेत सम्बन्धित पक्षको आयोगले ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी, आयोगले आम नागरिकसँग सरोकार राख्ने स्वास्थ्यको अधिकार सम्बन्धमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीसँग समेत छलफल गरी नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका विषयमा चासो राखेको छ ।

सो अवसरमा देशका विभिन्न भागमा हालै पक्राउ परेका चिकित्सकको सम्बन्धमा आयोगले नक्कली प्रमाणपत्रको छानबिन तथा स्वास्थ्य सेवाको शुद्धीकरणमा निर्भिकतापूर्वक लाग्न तथा सर्वसाधारणको जनस्वास्थ्यमा हेलचेक्र्याइँ हुने परिस्थिति रहन नदिन आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।