योगबाट मानव जीवनमा सुख शान्ति

368

योगबाट मानव जीवनमा सुख शान्ति

ध्रुबशरण ढुंगाना
बुटवल, ८ असार । योगबाट मानव जीवनमा सुख शान्ति प्राप्त हुने योगीहरु बताउँछन् । उनीहरुका अनुसार हिन्दु धार्मिक ग्रन्थहरुमा पनि योगलाई बिशेष स्थान र महत्व दिईएको छ ।
‘योग भनेको जोड्नु हो ।’ आध्यात्मिक गुरु चैतन्य कृष्ण भन्नुहुन्छ–‘योग क्रियाले मानिसको चेतना र शरीरको सम्बन्धलाई जोड्ने काम गर्दछ ।’ अन्तर्राष्ट्रिय जगतमा योग दिवसको स्थापना भएको दुई वर्ष पुरा भएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवधारणा भारतले संयुक्त राष्ट्रसंघमा पेश गरेको थियो । सोही अनुसार दुई वर्ष अंगाडीदेखि योग दिवस मनाउन थालिएको हो ।
तर पनि योगको उत्पत्ति नेपालमा भएको अध्यात्मिक गुरु चैतन्य कृष्ण बताउनु हुन्छ । चैतन्य कृष्णका अनुसार गुरु गोरखनाथले तपस्या गरेको स्थल भएकै कारण गोरखा जिल्लाको नामाकरण नै उहाँको नामबाट भएको हो । त्यस्तै घेरण्य ऋषिले घेरण्य संहिता रचना गरेको देश पनि नेपाल हो । भगवान शिवजस्ता महान योगीले पार्वतीलाई प्रथम योग शिक्षा दिएको भूमी पनि नेपाल नै भएकाले योगको उद्गम स्थल नेपाल नै भएको उहाँको दावी छ ।
गोब्रति योगी सोमराजले पनि योगको उद्गम स्थल नेपाल भएपनि पछिल्लो समयमा आफ्नौ गौरवपूर्ण ईतिहासलाई भुलेर अरुको पछि लागेको देख्दा दुःख लाग्ने बताउनु हुन्छ । योगले मानसिक तनाव, शारीरिक कष्ट निबृत्ति र रोग प्रतिरोधात्मक शक्तिमा बृद्धि हुने उहाँ बताउनु हुन्छ ।