रुपन्देहीमा ३६ पुल बन्दै

1.1K

रुपन्देहीमा ३६ पुल बन्दै

सुदिप भण्डारी

बुटवल, ८ असार । स्थानीय सडकहरुमा निर्माण हुने पुल निर्माणको लागि रुपन्देहीमा ६ करोड ७५ लाख रुपैयां बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७३÷०७४ को लागि निर्माणाधीन र नयाँ बन्न लागेका ३६ वटा पुल निर्माणको लागि बजेट विनियोजन भएको हो । राजमार्ग बाहेकका सडकहरुका लागि यो शिर्षक अन्तर्गत बजेट विनियोजन हुने गर्दछ ।
सबैभन्दा बढी मोतिपुर–मणिग्राम–देबदह सडक अन्तर्गत तिनाउ पुलको लागि यो वर्ष ५० लाख रुपैया विनियोजन भएको छ । त्यस्तै देबदह र तिलोत्तमा नगरपालिका जोड्ने गरी रोहिणी नदिको पुलको लागि २५ लाख विनियोजन भएको छ । बाँकी पुलहरुको लागि २० लाख, १५ लाख र १० लाखका दरले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात व्यस्था मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्ष २०७३÷०७४ अन्तर्गत २० लाख बजेट विनियोजन भएका तिनाउ नदि अन्तर्गत पर्ने पुलहरुमा बुटवल १ र ५ जोड्ने पुल, बेतकुइया–सिकुवा सडक, अमुवा–टिकुलीगढ सडक, शंकरनगर–जोगिकुटी–रानीगञ्ज मोतीपुर सडकका पुल रहेका छन् । त्यस्तै दानब नदिमा पर्ने सुर्यपुरा–मानमटेरीया सडक, नयाँ गाउँ दुर्गानगरको पुल, कोलुवा सिसयी जाने पुल, बुटवल–चम्कीपुर सेमलार सडकको पुलको लागि २० लाखका दरले बजेट विनियोजन भएको छ । बुटवल देबीनगर हात्तिसुंढ पक्कीपुल, रुद्रपुर बनकसिया घाटको कन्चसीया पुल, छपियाबजार कालिदह कमरियाको दानब नदि पुल, केरवानी मेतावर जोड्ने कजरार खोला पुल, सैनामैनाको बाँसगढी अस्नेरी जोड्ने बनरहवा खोला पुल, गजेडी रुद्रपुर सडकको कञ्चन खोला पुल, सालझण्डी र बरौलीको कञ्चन खोला पुल, सुरहवा र रखैरा गाउँ जोड्ने पुल, कम्हरीया मेडरहवा जाने सडक, खडवा बनगाईको सिसाई कोलुवा पुल, देबदह १० को भलुही खोला पुल, चिलिया मैनहिया सडक, देबदहको भलुही मदराहनी सडकको रोहिणी नदि पुलको लागि पनि २० लाखका दरले बजेट बिनियोजन भएको छ ।
यस्तै १५ लाखको दरले बजेट बिनियोजन भएका पुलहरुमा सैना मैना ११ को लौघापानी जाने इंगुरीया खोलाको पुल, मर्चवार लुम्बिनी सडकको घाँघर नदि पुल, निर्वाचन क्षेत्र १ र २ जोड्ने रोहिणी नदि पुल, सिद्धार्थ नगरपालिका ११ को घाँघरा खोला पुल र सिसपुर–भवानीपुर जोड्ने गौरी खोला पुल रहेका छन् । त्यस्तै सैनामैना १ र सेमलार जोड्ने कर्साघाट पुल, बुटवल १३ र १५ जोड्ने जितगढी अगाडिको दानब नदि पुल, तामनगर सेमलार जोड्ने दानब नदि पुल, बुटवल ३ मैनाबगर देखि बुटवल १३ को माथिल्लो मजुवा जोड्ने दानब नदि पुलको लागि १५ लाख बराबरको बजेट विनियोजन भएको हो । आमा सडकको तेलार नदिपुल, सैनामैना देवापारको उङरीदा नदिको लागि १० लाख रुपैयाका दरले बजेट विनियोजन भएको छ ।
बजेट विनियोजन भएका जिल्लाका स्थानीय सडकका पुलहरु मध्ये २५ वटा निर्माणाधिन पुल रहेका छन् । जस अनुसार ४ वटा पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यलय बुटवलका इन्जीनियर नरेन्द्र भट्टले जानकारी दिनुभयो ।