रामपुरमा इलाका प्रशासन स्थापना हुँदै

443

रामपुरमा इलाका प्रशासन स्थापना हुँदै

पाल्पा, ८ असार । रामपुर नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । नगरवासीले लामो समयदेखि माग गरेपछि इलाका प्रशासन कार्यालयको औपचारिक स्थापना हुन लागेको हो ।

इलाका प्रशासन कार्यालयको आवश्यक व्यवस्थापन गर्नका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय पाल्पाले रामपुर नगरपालिकाका नायब सुब्बा रामकृष्ण भण्डारीलाई सरुवा गरी जिम्मेवारी दिएका छन् । बढ्दो सहरीकरण र रामपुरको विकाससँगै रामपुर नगरपालिकामा सरकारी कार्यालय सञ्चालन हुनेक्रम बढ्दो छ । यही असार १० गते स्थापना हुने इलाका प्रशासन कार्यालयको उद्घाटन गृहमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुहुने भएको छ ।

रु दुई लाख आर्थिक सहयोग

गण्डकीबेँसीको पहिलो सामुदायिक रेडियो, रेडियो रामपुरलाई रु दुई लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

रामपुर नगरपालिका–११ आँपचौर स्थायी घर भई हाल एनआरएन अमेरिकाका विशेष सल्लाहकार एवम् फ्रयांकलिन पिअर्स युनिभर्सिटि न्यूहेम्पसायरका भौतिक शास्त्रका प्राध्यापक डा रुद्र अर्यालले रेडियोलाई रु दुई लाख आर्थिक रकम सहयोग गर्नुभएको हो ।

कामको सिलसिलामा आफू अमेरिका रहे पनि समुदायको आवाज बोल्ने कालीगण्डकी बेँसी क्षेत्रकै पहिलो सामुदायिक रेडियो रामपुरलाई अन्य बखत पनि सहयोग गर्ने अर्यालले बताउनुभयो ।

“नाफामुखी नभई जनताको सेवाका निम्ति रेडियोले गाउँघरका खबरलाई सञ्चारमाध्यमबाट उजागर गरेको हुँदा आफूले रेडियोको विकासका लागि सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो । यस रेडियोले पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, पर्वत, लमजुङ, कास्की लगायतका जिल्लालाई लक्षित गरी समाचार, सूचना तथा विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ ।

बालक्लबद्वारा खानेपानी धारा निर्माण

धु्रवतारा बालक्लब रामपुर–४ ले शीतलनगरमा खानेपानीको धारा निर्माण गरेको छ । खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीलाई सहजरुपमा खानेपानीको उपभोग गर्ने वातावरण सिर्जना गर्न बालक्लबले खानेपानी धारा निर्माण गरेको हो ।

बालक्लबको कोषबाट रु १५ हजार २००, अन्य आर्थिक रकम जुटाएर करिब रु ५५ हजारको लागतमा खानेपानी धारा निर्माण गरिएको स्थानीयवासी केशव ज्ञवालीले बताउनुभयो । पन्ध्र मिटर वाल उठाएर चारवटा धारा निर्माण गरेपछि यहाँका स्थानीयवासीलाई पिउने पानी उपभोग गर्न, नुहाउन, लुगाधुन सजिलो भएको छ । रासस