असार १० मा प्रजातान्त्रिक विचार समाजको महाधिवेशन

587

असार १० मा प्रजातान्त्रिक विचार समाजको महाधिवेशन

काठमाडौँ, ८ असार । प्रजातान्त्रिक विचार समाजले पत्रकारिता एवम् बौद्धिक क्षेत्रमा योगदान पु¥याएबापत पत्रकार एवम् बुद्धिजीवी इन्द्रकान्त मिश्रलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

मुलुकमा मानवअधिकार, कानुनी राज्य तथा बहुदलीय संसदीय शासन प्रणालीको संस्थागत विकास र सुदृढीकरणमा क्रियाशील हुने उद्देश्यकासाथ २०५२ सालमा गठन गरिएको सो समाजद्वारा आज यहाँ पत्रकार सम्मेलन गरी पुरस्कारबारे जानकारी दिइयो ।

पुरस्कार यही असार १० र ११ गते काठमाडौँमा आयोजना हुने समाजको दशौँ राष्ट्रिय महाधिवेशनका अवसरमा प्रदान गरिनेछ । समाजले सम्मानका लागि रु पाँच लाखको अक्षय कोषसमेत स्थापना गर्ने निणर्य गरिसकेको छ ।

“खासगरी लोकतन्त्रमा आस्था राख्ने शिक्षक, अध्यापन, पत्रकारिता, चिकित्सा, कानुन, कला, साहित्य, इन्जिनियर र प्रविधि तथा वौद्धिक परामर्श र अनुसन्धानलगायतका व्यवसाय र पेसामा आबद्ध व्यक्तिले यस समाजको सदस्यता प्राप्त गर्नसक्ने प्रावधान रहेको छ”– पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीका अनुसार महाधिवेशनमा ४० भन्दाबढी जिल्लाबाट ३५० जना प्रतिनिधिले भाग लिनेछन् ।
महाधिवेशनमा प्रमुख अतिथिका रूपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथिका रूपमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ । पत्रकार सम्मेलनमा समाजले विभिन्न समयमा गर्दै आएको कार्यबारे जानकारी दिइयो ।