देउवाद्वारा थप पाँच जना मनोनीत

213

देउवाद्वारा थप पाँच जना मनोनीत

काठमाडौँ, ८ असार । नेपाली काँग्रेसको संसदीय दलले पूर्णताः पाएको छ ।

पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिमा थप पाँच जना सांसदलाई सदस्यको रुपमा मनोनयन गरेपछि कार्यसमितिले पूर्णता पाएको हो । पदेन सदस्यसहित काँग्रेसको संसदीय दल ३५ सदस्यीय हुने विधानमा व्यवस्था छ ।

नेपाली काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७२) को धारा ११ को उपधारा २ (ङ) बमोजिम देहाय उहाँहरुलाई सभापति देउवाले मनोनयन गर्नुभएको देउवाका निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जोशीका अनुसार कैलाली क्षेत्र नं ५ का दीर्घराज भाट, सङ्खुवासभा क्षेत्र नं १ का तारामान गुरुङ, बर्दिया क्षेत्र नं २ का सञ्जयकुमार गौतम, काभ्रेपलाञ्चोक क्षेत्र नं ३ का कञ्चनचन्द्र वादे र बझाङकी चन्द्रादेवी जोशी संसदीय दलको कार्यसमितिको सदस्ययमा मनोनीत हुनुभएको हो ।

नेता देउवाले यसअघि संसदीय दलको सचिवमा ध्रुव वाग्ले, कोषाध्यक्षमा मिनाक्षी झा, सदस्यमा चम्पादेवी खड्का र विष्णुमाया परियारलाई मनोनयन गर्नुभएको थियो । संसदीय दलको विषयगत समिति गठन गर्ने तयारी पनि भइरहेको दलका सचिव ध्रुव वाग्लेले जानकारी दिनुभयो ।

संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी गराउन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्न भोलि बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक बस्ने वाग्लेले बताउनुभयो ।