क्षेप्यास्त्र परीक्षणको दक्षिणद्वारा निन्दा

361

क्षेप्यास्त्र परीक्षणको दक्षिणद्वारा निन्दा

सोल, ८ असार । उत्तर कोरियाले बारम्बार गर्ने गरेको आणविक परीक्षणको दक्षिणले कडा शब्दमा निन्दा गरेको समाचार छ । उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी मङ्गलबार बिहान गरेको क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको हो ।

साथै यस्तो परीक्षण उत्तर कोरियाले बुधबार बिहान पनि गरेको दक्षिणको दाबी छ । यसरी बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसंघीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै त्यसको निन्दा गरेको हो ।

दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले मङ्गलबार बिहान मात्र उत्तर कोरियाले मुसुदान नामक ब्यालेष्टिक क्षेप्यास्त्र फालेको समाचारमा जनाएको थियो । यसअघि पनि उसले हालै अर्काे एक मध्यमदुरीको क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो ।

उत्तर कोरियाले सो मध्यमदुरीको क्षेप्यास्त्र देशको पूर्वी क्षेत्रमा फालेको पाइएको र दक्षिण कोरियाली रक्षामन्त्रालयका रक्षा विज्ञहरुले पत्ता लगाएका दक्षिण कोरियाली उक्त समाचार समितिले जनाएको छ ।

मङ्गलबार बिहान साढे पाँच बजे उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वानसनबाट सो क्षेप्यास्त्र फालिएकोले सो परीक्षण राष्ट्रसंघीय कानुनको विपरीत भएको बताइएको हो ।

त्यस्तै बुधबार पनि उत्तर कोरियाले पुनःअर्काे परीक्षण गरेको दक्षिण कोरियाले दाबी गरेको छ । दक्षिण कोरियाली एकीकरण मन्त्रायलका प्रवक्ताले बुधबार सो जानकारी गराएका हुन् ।

दक्षिण कोरियाली एकीकरण मन्त्रालयले सो परीक्षणको कडा शब्दमा निन्दा गरेको छ । बुधबार उक्त मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा सो जानकारी गराउनुभएको हो ।

उक्त मन्त्रालयका प्रवक्ता जियोन जुन हीले बुधबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलनमा बारम्बार यसरी उत्तर कोरियाले गर्ने गरेको परीक्षणप्रति उ जिम्मेवारी र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

केही समयअघि पनि उसले यही क्षेत्रमा अर्काे क्षेप्यास्त्र परीक्षण गर्न लागेको र त्यो असफल भएको पाइएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको थियो ।

सो मन्त्रालयले भनेको छ– यस्तो परीक्षणका बारेमा हामीले कुनै सूचना पाएका छैनौँ तर परीक्षणको नै उसको तयारी भएकोमा भने आफूहरुले जसरी पनि पत्ता लगाउने रक्षामन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा उसले उक्त क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको पाइएको र यसको परीक्षणको कुनै सूचना प्राप्त नभएको बताएको छ ।

पछिल्लो समयमा यी दुई कोरियाबीच चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि पनि प्योङयाङले प्रस्ताव गरेको थियो । तर त्यस प्रस्तावलाई दक्षिण कोरियाले हालैमात्र अस्वीकार गरेको थियो ।

पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया तथा अमेरिकाले उसमाथि नाकाबन्द लगाएका छन् । संयुक्त राज्य अमेरिकाले पनि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी लगाएको छ ।


दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको हठ स्वाभाव भईसकेको बताउने गरिएको छ ।

मङ्गलबार बिहान र बुधबार पनि गरिएको भनिएको यस क्षेप्यास्त्रको प्रयोगका बारेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन ।

दक्षिणले भने बारम्बार उत्तर कोरियाले आफूखुसी गर्दै आएको यस्तो परीक्षणका विरुद्धमा उसमाथि कानुनी कारबाही गर्नुपर्ने बताउदै आएको छ । रासस÷एएफपी