बेरुत, ८ असार । सिरियाको प्रान्तीय राजधानी राकामा मङ्गलबार इस्लामिक स्टेट समूहलाई लक्ष्यगरी गरिएको एक हवाई आक्रमणमा २५ सर्वधारण मारिएका छन् ।
केही दिनयता सिरियाली सैनिकले आइएसका विरुद्धमा भन्दै स्थलगत तथा हावाई कारबाही थालेको छ । सो कारबाहीमा परी कैयौँ सर्वसाधारणको ज्यान जाने गरेको बताइएको छ ।
सो हवाई आक्रमणमा ६ बालबालिकासहित २५ सर्वसाधारणको मृत्यु भएको मानवअधिकावादी समूहले बुधबार जानकारी दिएको छ ।
यस आक्रमणमा परी अन्य दर्जनौँ व्यक्ति घाइते भएका र तीमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
रसियाली समर्थक सेनाबाट भएको यस हवाई आक्रमण आइएस लक्षित रहेको बताइएको छ । तर त्यसमा परी आइएसका कुनै लडाकू भने हताहत भएका छैनन् ।
जिहादीहरुको आक्रमणमा गत आइतबार र सोमबार गरी सिरियाको राजधानी दमासकसमा ४० भन्दा बदी सैनिक मारिएका छन् ।
त्यसयता सिरियाली सेनाले पनि आइएस विरुद्ध भन्दै कारबाही गरिरहेको छ । मङ्गलबारको यस आक्रमणबाट सर्वसाधारण हताहत भएका यहाँको मानवअधिकारवादी संस्थाले जनाएको हो । रासस÷एएफपी