प्रभावशाली नेताको गाउ अझै फोहोरी

1.3K

प्रभावशाली नेताको गाउ अझै  फोहोरी

कृष्णप्रसाद ढकाल
भैरहवा, ९ असार । पार्टीका प्रभावशाaली नेता एवं रुपन्देही जिल्लाबाट निर्वाचित ७ जना सांसदको कर्मथलो अझै फोहरी सूचीमा परेको छ । अर्थमन्त्री एवं नेकपा एमाले सचिव विष्णु पौडेल, राप्रपा महामन्त्री एवं श्रममन्त्री दीपक बोहोरा, नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री बालकृष्ण खाण, तराई मधेश सदभावना पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, नेपाली काँग्रेस रुपन्देही जिल्ला सभापति एवं सभासद अव्दुल रजाक, पूर्वअर्थराज्यमन्त्री एवं सभासद भरतकुमार शाह, तमलोपाका नेता एवं सभासद कमलेश्वर पुरी गोस्वामीको गाऊ क्षेत्र अझै खुलादिसामुक्त नहुदा जिल्लालाई पूर्णसरसफाई घोषणा गर्न चुनौती देखिएको खानेपानी स्वास्थ्य तथा सरसफाई स्वच्छता समन्वय समिती रुपन्देहीले जनाएको छ ।
अर्थमन्त्री पौडेल गृहनगर बुटवल उपमहानगरपालिका अहिलेसम्म खुल्ला दिशामुक्त हुन सकेको छैन । स्थानिय विकास मन्त्रालयको कार्यसम्पादनको मामिलामा अग्रस्थानमा रहने बुटवलका विपन्न एवं सुकुम्वासी वस्तीका अधिकांश समुदायको घरमा चर्पी छैन । उनीहरुले तिनाउ खोला र ढलमा दिसा पिसाव विर्सजन गर्दैआएका छन् ।
यसैगरी श्रममन्त्री दीपक बोहोराको निवास सिनपा ३ खजहना गाउका ५३ घरधुरीले चर्पी बनाएका छैनन । उनको घरनजिक ढल एवं खजहना आँखा अस्पताल सडक हिड्ने यात्रीले नाकमुख छोपेर हिड्न्पर्ने लाजमर्दो दृश्य छ । केहि किसानले सडक च्यापेर भैसी गोरु बाँध्ने, पशुचौपायाका झै जथाभावि खुला दिसा–पिसाव गरेको देखिन्छ ।
‘नेतालाई भोट चाहियो, गाउ सफा चाहिदैन, गाउलेलाई चर्पी बनाउभन्दा भोट काटिने डरले सभासदले दवाव दिन सक्दैनन । कतिपयले चर्पी बनाउन वेवास्ता गर्छन, अझैपनि केहिमा चेतनाको कमी छ ।’ एक नीजि विद्यालयका शिक्षक अनिल पाण्डेयले भने ।
मन्त्री बाहोराको गृहनगर भैरहवाका १३ हजारघरधुरीमध्ये अझै ५०९ घरमा चर्पी निर्माण नभएको सिद्धार्थनगर नगरपालिकाका कार्यकारी अधिकृत एवं गाउनगर खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीका संयोजक विष्णुदत गौतमले जानकारीदिए ।
मधेशवादी नेताद्वय सांसद सर्वेन्द्रनाथ शुक्लको क्षेत्र र कमलेश्वर पुरी गोश्वामी निर्वाचित विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल पर्यटकीय लुम्विनी क्षेत्र पनि खुला दिसामुक्त हुनसकेका छैनन । मर्चवार क्षेत्रमा एकमात्र गाविस फरेना हालै खुल्ला दिशामुक्त गाविस घोषणा भएको छ । रुपन्देहीका सांसदको गाउका स्थानियले अझै खुल्मखुला दिसापीसाव गर्ने गरेका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर ध्रुव धितालले सांसदको गाउ अझै खुल्ला दिशामुक्त हुन नसकेको गुनासो गर्नुभयो । रुपन्देही क्षेत्र नम्बर १ का सांसद एवं नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको गाऊ बोदवार सरसफाईको मामिलामा सबैभन्दा पिछडिएको गाविस भएको सरोकारवालाहरुले औल्याएका छन् ।
सभासद भरत शाहको गृह विष्णुपुरा गाविस पनि अझै खुलादिसामुक्त हुन सकेको छैन । रुपन्देही क्षेत्र नम्बर ५ मा सांसद शाहको गाविस नै सरसफाईको मामिलामा सवैभन्दा पछाडीको स्थानमा परेको छ । रुपन्देहीको क्षेत्र नम्बर ७ कमलेश्र पुरी गोश्वामीको गृहनगर प्रस्तावित शान्ति शहर लुम्बिनी पनि अहिलेसम्म खुल्ला दिशामुक्त हुन सकेको छैन् ।
सांसद बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिका पनि प्रहरी लगाएपछि मात्रै बढोमुस्कीलले जेठ २७ गते खुला दिसामुक्त घोषणा गरिएको स्थानिय विकास अधिकारी युवराज सुवेदीले जानकारीदिए ।
‘अटेर गर्ने केहि मान्छेलाई प्रहरी लगाएर समाती कार्वाही गरेपछि मात्रै चर्पी बनाउन थालेका छन् ।’ स्थानिय विकास अधिकारी सुवेदीले भने । विपन्न स्थानियलाई जिविसले चर्पी वनाउन उपलव्ध गराएको आवश्यक निर्माण सामाग्रीहरु सिट, पाईप, वालुवा, सिमेन्ट, रिङ दुरुपयोग गरेपछि जिविसले निर्माण सामाग्री अनुदान सहयोग दिन रोकेको छ । गाविसभरी चर्पी निर्माणभएपछि मात्रै जिविस तथा खानेपानीले प्रोत्साहन स्वरुप एकमुष्ट रकम दिने गरेका छन् । जिविसले हुलाकी सडकदेखि दक्षिणका गाविसहरुलाई तीनलाख रुपैया र उतरी क्षेत्रका गाविसलाई दुईलाख रुपैया प्रोत्साहन दिने गरेको स्थानियविकास अधिकारी सुवेदीले जानकारीदिए । उनले पुसभित्र जिल्लालाई खुलादिसामुक्त गराउन आफू दिनरात खटिएको दावी गरे । सामाजिक परिचालक, उत्प्रेरक, गाविस सचिव, वडा सचिवलाई घरदैलोमा खटाएर स्थानियलाई चर्पी बनाउन निरन्तर आग्रह गरिरहेको उनले वताए ।
बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्विनी सांस्कृतिक नगरपालिका र १२ गाविस अझै खुलादिसामुक्त भएका छैनन । सरसफाई स्वच्छता समन्वय समितीले प्रहरी लगाएर विशेष दवावमा कमरीया गाविसलाई विहिवार र रायपुर गाविसलाई यहि असार १५ गते खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रम तय गरेको छ । विगत १७ वर्षदेखि चर्पी निर्माण एवं खुलादिसामुक्त जनचेतना अभियानमा वर्षेनी लाखौं रकम खर्चगर्दा अहिलेसम्म रुपन्देहीमा ३६ गाविस मात्रै खुलादिसामुक्त भएका छन् ।