इन्डोनेसियामा बाढी र पहिरोबाट ५६ को मृत्यु

666

इन्डोनेसियामा बाढी र पहिरोबाट ५६ को मृत्यु

जाकार्ता, १० असार । पश्चिमी इन्डोनेसियाको मध्य प्रान्त जाभामा आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या बिहीबारसम्म ५६ पुगेका छ ।

यस बाढी र पहिरोमा परी अन्य ९ जना बेपत्ता हुनुका साथै २२ जना घाइते भएका प्रकोप व्यवस्थापन निकायका वरिष्ठ अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

उद्धारकर्ताहरूले जारी राखेको उद्धारकार्यमा सयौँ व्यक्ति उद्धार भएका स्थानीय अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

यस प्रकोपमा परी जाभा प्रान्तको पुवोरेजो, बानजार्नेगारा, केबुमेन जिल्लाका बढी व्यक्ति प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ ।

सो प्रकोपको कारण ३९५ जना गाउँलेलाई शरणार्थीस्थलमा लगिएको नुग्रोहोले बताउनुभएको छ ।

यस बाढी पहिरोमा परी १४३ वटा घर र सयौँ भौतिक संरचना क्षतिग्रस्त भएको बताइएको छ ।

गत शनिबारबाट सुरु भएको भारी वर्षापछिको बाढी र पहिरोमा परी १६ वटा जिल्ला प्रभावित भएको जनाइएको छ ।

इन्डोनेसियामा भारी वर्षा तथा यसपछि बारम्बार बाढी र पहिरोजस्ता प्रकोपले सताउने गरेको पाइन्छ । रासस÷सिन्ह्वा