अफगानिस्तानमा ५० तालिवानद्वारा आत्मसमर्पण

621

अफगानिस्तानमा ५० तालिवानद्वारा आत्मसमर्पण

अफगानिस्तान, १० असार । अफगानिस्तानमा हिंसात्मक विद्रोह गरिरहेका तालिवान समूहका ५० जना सशस्त्र लडाकूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनीहरूले अबदेखि हत्या हिंसामा नलाग्ने भन्दै आफूसँग भएका हातहतियारसमेत बुझाएर सरकारसमक्ष आत्मसमर्पण गरेका बताइएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्तको दौलतबाद जिल्लाका लडाकूहरूले आत्मसमर्पण गरी जिल्लाको प्रहरी मुख्यालयमा हतियार बुझाएको समाचारमा जनाइएको छ ।

उक्त जिल्लाका सैनिक प्रवक्ता नसरुल्लाह जमसिद्दीले ५० जना तालिवान सशस्त्र लडाकूले हतियार बुझाएका र अबदेखि हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा पछिल्लो समयमा हिंसा कायम नै रहेको छ । तालिवानहरूले सरकारी कर्मचारी, सुरक्षा निकाय तथा नेटो सेनालाई समेत समय समयमा निशाना बनाउने गरेका छन् ।

यस हिंसामा परी हाल यहाँ दिनहूँजसो नागरिकको ज्यान जाने गरेको छ । उनीहरूले सर्वसाधारण नागरिकलाई समेत लक्ष्यगरी गर्ने गरेका हमलाहरूमा परी ठूलो सङ्ख्याका सर्वसाधारणले पनि ज्यान गुमाउने गरेका छन् ।

सरकारले ती विद्रोहीलाई आत्मसमर्पण गरी शान्तिपूर्ण जीवनयापन गर्नका लागि आह्वान गर्ने गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन । रासस÷सिन्ह्वा