काठमाडौँ, ११ असार । नेपाल विद्यार्थी सङ्घका नेताहरुले दुई वर्षभित्र महाधिवेशन नगरे केन्द्रीय समिति स्वतः भङ्ग गर्न माग गरेका छन् ।
नेवि सङ्घको आज बाल्मिकी क्याम्पसमा ‘हाम्रो नेवि सङ्घ सङ्गठित र प्रशिक्षित नेवि सङ्घ’ अभियानले आयोजना गरेको भेलामा बोल्ने अधिकांश नेताले तोकिएको समयमा महाधिवेशन नभए स्वतः केन्द्रीय समिति खारेज गर्नुपर्ने बताएका हुन् ।
भेलामा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन, एक व्यक्ति एक पद र समयमै अधिवेशन गरेमात्र सङ्गठन बलियो हुने बताएका छन् । यस्तै निःशुल्क शिक्षा, शिक्षामा व्यापारीकरण र राजनीतिकरणको अन्त्य, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नु आवश्यक रहेको औँल्याएका छन् ।
कार्यक्रममा नेवि सङ्घका पूर्व सहमहामन्त्री अभियानका संयोजक नीलकण्ठ रिजालले सङ्गठनलाई बलियो बनाउन टिके प्रथाको पूर्ण अन्त्य गर्नुपर्ने बताउनुभयो ।
पाँच घन्टासम्म चलेको बहसमा नेवि सङ्घका पूर्व केन्द्रीय सदस्य उर्मिला थपलिया, कृष्णकुमारी बस्नेत, युवराज पाण्डे, वर्तमान केन्द्रीय सदस्य मोतिलाल भण्डारी, मनहरि श्रेष्ठ, कृष्ण कट्टेल, लेखनाथ पोखरेल, सन्तोष पाण्डे, नेवि सङ्घका नेता भरत खड्कालगायत चार दर्जनभन्दा बढी विद्यार्थी नेताले आफ्नो धारणा राख्नुभएको थियो ।
भेलाबाट प्राप्त सङ्गठन सुढृढीकरण एवम् शैक्षिक मुद्दालाई समेट्दै आगामी ११औँ महाधिवेशनमा साझा अवधारणा पेस गरिने अभियानले जनाएको छ ।