देशले समावेशी संविधान पाएको छ : देउवा

256

देशले समावेशी संविधान पाएको छ : देउवा

ललितपुर, ११ असार । हरिराम जोशीद्वारा लिखित पाँचवटा विधाको समष्टीगत रुपमा आएको ‘पञ्च बल्लव’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

जोशी रिसर्च इन्सिच्युटद्वारा यहाँ आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट लोकार्पण गरिएको उक्त ग्रन्थमा बुद्धयुग, दासप्रथा, माँ, वेदवेदाङ्ग के भन्छन् एवम् उपहार नामक कृतिको सङ्गालो रहेको छ ।

सो अवसरमा काँग्रेस सभापति देउवाले नेपाली साहित्यमा रुची राख्नेका लागि उक्त ग्रन्थ अध्ययनको विषय हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जोशीद्वारा लिखित सो पुस्तकले नेपालीको मन जित्नसक्ने बताउनुभयो ।

उहाँले नेपाल अप्ठ्यारो स्थितिमा गुज्रदै आएको उल्लेख गर्दै यस अवस्थामा देशले विकासको गति लिन गाह्रो हुनसक्ने औँल्याउनुभयो । देशले समावेशी संविधान पाएको उल्लेख गर्दै त्यसको कार्यान्वयनपश्चात् सबै जातजातिले आफ्नो अधिकारलाई सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक हरिराम जोशीले नेपालीमा आएको तिम्रो र मेरो भन्ने भावनाले सधैँ झै–झगडा मात्र भएको बताउनुभयो । हामी र हाम्रो भन्ने भावनाका साथ अघि बढ्न सकेमा देश शान्ति एवम् सुखमय हुनसक्ने उहाँको विश्वास रहेको थियो ।

नेपाली काँगे्रसका सांसद नवीन्द्रराज जोशीले अलग्गै संसार बनाएर बस्न सक्ने लेखक जोशी जस्तो व्यक्तित्वलाई समाजले खोज्नुपर्नेमा जोड दिनुभयो । वास्तवमा लेखकले आफ्नो कलममार्फत तल्लो तहमा रहेका जनताको आवाजलाई साहित्यमार्फत बाहिर ल्याउन उल्लेखनीय भूमिका खेलेको उहाँले बताउनुभयो ।

प्राध्यापक डा पुरुषोत्तम लोचन श्रेष्ठले जोशीजस्ता व्यक्तित्वका लागि राज्यले विद्यतवृत्ति गराउनुपर्नेमा जोड दिनुभयो । सम्मानित हुनुभएका मोहन दुवालले नेपालमा गणतन्त्र आएको आभासमात्र भएको उल्लेख गर्नुभयो । गणतन्त्रले राजालाई हटाइयो तर नेताले गर्ने क्रियाकलापले अर्को राजाको जन्म भएको हो की भन्ने आफूलाई लागेको उहाँको तर्क रहेको थियो ।

सो अवसरमा चार जना प्राज्ञिक डा जनकलाल वैद्य, ज्ञानकाजी मानन्धर, छत्रबहादुर कायस्थ र मोहन दुवाललाई सम्मान गरिएको थियो ।