संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

378

संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ, ११ असार । पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ ।

तारकेश्वरन्यूज डटकमले आज यहाँ आयोजना गरेको तारकेश्वर नगरपालिकामा रहेका विद्यालयका प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा अनलाइनको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा यादवले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्न प्रमुख दलबीच एकता आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “सबैलाई समेट्नेखालको संविधान ल्याउन सफल भएका छौँ, यो जनताको ठूलो बलिदानबाट आएको छ, संविधानको सफल कार्यान्वयन गरेर लागू गर्न दलहरु एकजुट भएर लाग्नुपर्छ ।” डा यादवले संविधान कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईलाई समेट्नुपर्ने बताउनुभयो । उहाँले जुनसुकै विषय पढे पनि राम्रो हुने बताउँदै यो वा त्यो विषयभन्दा देशको सेवा गर्ने शिक्षा आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले मुलुकमा विकास गराउनका लागि व्यवहारमुखी शिक्षा आवश्यक रहेको स्पष्ट पार्नुभयो । प्रधानले रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमाले अनलाइनलाई नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले २१औँ शताब्दीमा अनलाइनको ठूलो महत्व रहेको भन्दै सही र सत्य सूचना प्रवाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष सुशील भट्ट, सल्लाहकार मुकुन्द रिजाल, कुन्दन काफ्लेलगायतले मुलुकको शैक्षिक, राजनीतिकलगायतका क्षेत्रमा अनलाइनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व राष्ट्रपति यादवले तारकेश्वर नगरपालिकाका माविबाट प्रवेशिका परीक्षामा सम्मिलित भई उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीको सम्मान गर्नुभएको थियो ।