कांग्रेसद्दारा संसद अवरोध

568

कांग्रेसद्दारा संसद अवरोध

काठमाडौँ, १२ असार । भुकम्प पीडितलाई एकमुष्ठ दुई लाख नदिएको भन्दै नेपाली कांग्रेसले आज संसद बैठक अवरुद्ध गरेको छ । कांग्रेसले भूकम्प पीडितलाई आवास निर्माणका लागि एकमुष्ट दुई लाख दिनुपर्ने माग गर्दै निरन्तर व्यवस्थापिका संसद अवरोध गर्दै आएको छ।

कांग्रेसले भूकम्प पीडितलाई आवास निर्माणका लागि तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने, वार्षिक दुई प्रतिशत व्याजदरमा १५ लाख र २५ लाख सहुलियत पूर्ण ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ। कांग्रेसले आफ्नो नेतृत्वको सरकारले निर्णय गरेका दुवै निर्णयलाई वर्तमान सरकारले तत्काल दिनुपर्ने माग गर्दै आएको छ।
सदनको आजको बैठक पनि सुरु हुनेबित्तिकै काँग्रेसका अर्जुननरसिंह केसीले सरकारले भूकम्पपीडित जनताको कष्टप्रद जीवनमाथि खेलबाड गरेको आरोप लगाउनुभयो । उहाँले भूकम्प गएको १४ महिना बिति सक्दा पनि भूकम्पपीडित त्रिपालमुनि त्रासदीपूर्ण रुपमा दैनिकी गुजारा गरिरहेको प्रति सरकार संवेदनशील बन्न नसकेको आरोप लगाउँदै सरकार यस्ता जनतालाई राहत होइन, आहत दिन लागिपरेको बताउनुभयो ।

भूकम्पपीडितलाई राहत दिन राज्यको ढुकुटी गैह्रसरकारी संस्थालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले वितरण गरेको आरोप पनि नेता केसीले बताउनुभयो । सोही दलका मोहनबहादुर बस्नेतले एकमुष्ट, बिनाझन्झट दुई लाख घर निर्माण गर्न रु ३० लाख भूकम्पपीडितले माग गर्दा सरकार किन नसुनेको जस्तो गरिरहेको छ भन्ने प्रश्न गर्दै सरकारको नियत भूकम्पपीडितमाथि राजनीति गर्ने देखिएको बताउनुभयो ।

उहाँले दुई वर्षात्को समय जान लागिसक्यो, पीडित जनताले कति खुला आकाशमुनि बिताउने भन्ने प्रश्न गर्दै छिटो एकमुष्ट रु दुई लाख वितरण गर्न सरकारसित माग गर्नुभयो ।

सो दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकारले भूकम्पपीडित जनतालाई घर बनाउन एकमुष्ट रुपमा रु दुई लाख दिने सरकारी प्रतिबद्धता नआएसम्म सदन चल्न नसक्ने जानकारी दिनुभयो । उहाँहरुले आआफ्ना आसनबाट उठेर नै आआफ्ना भनाइ राख्नुभएको थियो ।

सदनको आजको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, उद्योगमन्त्री र शिक्षामन्त्रीले छुट्टाछुट्टै विभिन्न विधेयक प्रस्तुत गर्ने रहेको थियो । यसैगरी विनियोजन विधेयक अन्तर्गत सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था, कृषि विकास, उद्योग, कानुन न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद विषयमा छलफल गर्ने कार्यसूची थियो ।

सभामुख ओनसरी घर्तीले जनताको आशा पूरा गर्न सदनको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्दै यसमा सहयोग गर्न प्रमुख प्रतिपक्षी दलसँग आग्रह गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणबारे सदनलाई जानकारी दिन खोजिरहनुभएकाले पहिले उहाँका कुरा सुन्न र अनि प्रश्न गर्न पनि आग्रह गर्नुभएको थियो ।

यसपछि प्रतिपक्षी दलका सांसद आ–आफ्ना आसनबाट उठिरहनु भएका कारण सभामुख घर्तीले बैठक भोलि सोमबार दिनको १ बजेसम्मका लागि स्थगन गरेका घोषणा गर्नुभयो ।