बुटवल, १२ असार । नेपाल प्रेस युनियन रुपन्देहीले सदस्य कल्याणकारी कोष बनाउने निर्णय गरेको छ । दुई दिने अन्तर शाखा अध्ययन भ्रमणमा निस्केको युनियन रुपन्देहीको कार्यसमिमितको शुक्रबार नवलपरासीको कावासोती स्थित थारु होमस्टेमा बसेको बैठकले युनियनका सदस्यहरुलाई भैपरी आउने दुःख अफ्ठ्यारोमा सहयोग गर्नका लागि सदस्य कल्याणकारी कोष निर्माण गर्ने निर्णय गरेको हो ।
सोही बैठकले युनियन रुपन्देहीको हालै सम्पन्न साधारण सभा, पुरस्कार वितरण र सम्मान कार्यक्रमको समेत समिक्षा गरिएको छ । बैठकले साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने तथा पुरस्कार वितरणक ालागि छनौट गर्ने छनौट समितिलाई पनि धन्यवाद ज्ञापन गरेको छ । त्यस्तैगरी युनियन रुपन्देहीले प्रकाशन गरेको स्मारिकाले युनियनको गरिमा बढाउन सक्षम भएको र प्रकाशन गरिएको क्यालेण्डरले युनियनको कामलाई निरन्तरता दिएको निश्कर्ष निकाल्दै स्मारिका प्रकाशन समितिका संयोजक रमेश अर्याल सहित समितीका सदस्यहरु तथा क्यालेण्डर प्रकाशन समितिका संयोजक अमृत पाण्डेय र समितिका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
दुई दिने भ्रमणका क्रममा नवलपरासी र चितवनका शाखासंग भेटघाट तथा अन्तरक्रिया गरिएको छ । सो भेटघाट तथा अन्तरक्रियामा शाखाका समस्या र शाखाले गरेका रचनात्मक कामको जानकारी गराउनुको साथै अन्तर शाखाबीच समन्वय आवश्यक रहेको औंल्याईएको थियो । शुक्रबार बुटवलबाट निस्केको युनियन रुपन्देहीको कार्यसमितिको टोलीले नवलपरासीको त्रिवेणी, चितवनमा पर्ने ऐतिहासिक बालमिकी आश्रम, कावासोती नगरपालिका स्थित अमलटारी थारु होम स्टे, चितवनको सौराहा, माडी स्थित कसरामा रहेको घडीयाल गोही प्रजनन् केन्द्र तथा चितवन र नवलपरासीका केही मिडियाहरुको अवलोकन गरेको थियो ।
त्यस्तै नवलपरासी र चितवनका बिभिन्न स्थानमा युनियन संघ अन्तरक्रिया समेत गरिएको थियो । चितवनको नारायणगढमा भएको अन्तरक्रियामा नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय सदस्य बसन्त पराजुली, जिल्ला सभापति नारायण अधिकारी, सचिव अनिल ढकालले युनियन चितवनको बारेमा जानकारी गराउनुका साथै चितवन शाखाले गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तैगरी नवलपरासीको थारु होम स्टेमा भएको रुपन्देही नवलपरासी अन्तरशाखा परिचयात्मक कार्यक्रममा युनियनका केन्द्रीय सचिव केवी राना, जिल्ला सभापति श्रीराम सिग्देल, सचिव नविन पौडेलले त्यहाँको बस्तुस्थितीका बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै नवलपरासीकै त्रिवेणीमा भएको युनियन सदस्यहरु बिच परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुषोत्तम सुवेदी, युनियनका पूर्व नवलपरासी सभापति आरपी उपाध्याय लगायतले त्रिवेणी क्षत्रका समस्याका बारेमा जानकारी गराउनु भएको थियो । युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको नेतृत्वमा कार्यसमितिका पदाधिकारी सदस्य सहित १३ जनाको टोलीले दुई दिने अन्तरशाखा भ्रमण पुरा गरी शनिबार साँझ बुटवल फर्केको थियो ।