घट्दै छ धानखेत

502

घट्दै छ धानखेत

dhan khet

पोखरा, १४ असार । देशव्यापी रुपमा राष्ट्रिय धान दिवसको चासो र चर्चा बढ्दै गर्दा उब्जाउयोग्य धान खेत प्लटिङ हुँदै जानु गम्भीर चुनौतीका रुपमा देखिएको छ ।

पछिल्ला केही वर्षमा नै उब्जाउयोग्य धानखेत प्लटिङका माध्यमबाट घडेरीमा परिणत भएपछि खेतको क्षेत्रफल घटेर उत्पादनमा कमी आएको छ । विसं २०६८ यता बढिरहेको प्लटिङका कारण बर्सेनि धानखेतको क्षेत्रफल घटिरहेको क्षेत्रीय कृषि निर्देशनालय पोखराका वरिष्ठ बागबानी विकास अधिकृत मदनकुमार श्रेष्ठ बताउनुहुन्छ ।

“प्लटिङले उब्जाउयोग्य खेत घडेरीमा परिणत भएका छन्,” उहाँले भन्नुभयो– “सबै धानखेत घडेरीमा परिणत हुने स्थिति छ ।” उब्जाउयोग्य खेत प्लटिङ गर्न नपाउने गरी सरकारले नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले १२ वर्षयता बर्सेनि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवसलाई लक्षित गरी देशव्यापी रुपमा विभिन्न कार्यक्रम गर्ने गरिएको भए पनि उब्जाउयोग्य खेत प्लटिङ भइरहेको प्रति खासै चासो नदेखिएको क्षेत्रीय कृषि निर्देशनालयका कृषिप्रसार अधिकृत निलकण्ठ कोइराला बताउनुहुन्छ । पश्चिमाञ्चल विकास क्षेत्रमा आव २०७०÷७१ मा तीन लाख १६ हजार ६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा आव २०७१÷७२ मा उक्त क्षेत्रफल घटेर तीन लाख ११ हजार १४७ हेक्टर पुगेको छ ।

यस्तै आव २०७२÷७२ मा सो क्षेत्रफल घटेर दुई लाख ९८ हजार १९५ हेक्टर पुगेको छ । पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका १६ जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकका जिल्लामा धानखेतमा बढ्दो प्लटिङको प्रभाव परेको कोइरालाको भनाइ छ । नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा बढ्दो प्लटिङले बढी प्रभावित गरेको छ ।

खेतीयोग्य जमिन मासिँदै जाँदा खाद्यान्न समस्या हुने नेपाल किसान सङ्घ कास्कीका अध्यक्ष भेषराज पराजुली बताउनुहुन्छ । “खेत मासिनबाट जोगाउनु पर्छ, स्थानीय तहबाट यसको नियन्त्रण सम्भव छैन, सरकारले नै नीति तय गरी कार्यान्वयनमा ल्याउनुपर्छ,” उहाँले भन्नुभयो । ‘व्यावसायिक धानखेतीको आधारः सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले भोलि देशभर राष्ट्रिय धान दिवस मनाउने तयारी गरेको छ । रासस