मेक्सिोकोमा प्रहरीद्वारा महिलामाथि यौनहिंसा

348

मेक्सिोकोमा प्रहरीद्वारा महिलामाथि यौनहिंसा

मेक्सिको सिटी, १४ असार । मेक्सिकोको प्रहरीले महिलामाथि यौन हिंसा गर्ने गरेको विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।

उक्त संस्थाले दिएको जानकारी अनुसार मेक्सिकोको प्रहरी तथा सशस्त्र सुरक्षा बलले पक्राउ गर्ने क्रममा र अनुसन्धान एवम् पुर्पक्षका लागि थुनामा राख्नेक्रममा यसरी महिलामाथि यौन हिंसा गर्ने गरेको पाइएको छ ।

मङ्गलबार मेक्सिकोमा सार्वजनिक गरिएको एम्नेस्टी इनटरनेशनलको प्रतिवदेनमा यस विषयमा उल्लेख गरिएको छ । यहाँ पक्राउ गरिएका महिलामा गरिएको अनुसन्धानमा त्यस्तो पाइएको जनाइएको छ ।

एम्नेस्टी इन्टरनेसनलले यसरी पक्राउ गरी यौन हिंसामा परेका भनिएका १०० जना महिलासँग अन्तरवार्ता गरेको थियो ।

अन्तरवर्तामा सम्लग्नमध्येका अधिकांश महिलाले आफूहरुमाथि पक्राउ गर्ने क्रममा र त्यसपछि पनि सुरक्षाकर्मीले दुव्र्यवहार र यौन शोषण गर्ने गरेको जानकारी गराएका थिए ।

अन्तरवार्तामा सम्लग्नमध्येका दशमा सात जना महिलाले आफूहरुमाथि सुरक्षाकर्मीले यौन शोषण गर्ने गरेको जनाएका थिए । यस क्रममा प्रहरीले उनीहरुलाई र उनीहरुका परिवारलाई नै धम्क्याउने गरेको जानकारी दिएका थिए ।

नियन्त्रणमा लिएपछि महिलालाई शारीरिक यातना दिने, यौन शोषण गर्ने तथा कहिलेकाहीँ त यसरी पक्राउ गरिएका महिलालाई धम्क्याएर उनीहरुका परिवारमाथि समेत दुव्र्यवहार तथा बलात्कार गर्ने गरेको पाइएको ती महिलाले बताएको सो प्रतिवेदनमा उल्लेख छ ।

समाजका गरिब तथा न्युन आय भएका महिला प्रहरीको यस्तो तारो बन्ने गरेका छन् । उनीहरुले समाजमा आवाज उठाउन नसक्ने र प्रहरीका विरुद्धमा कसैसँग उजुरी गर्न पनि नसक्ने गरिब समुदायका युवतीहरु यसरी प्रहरीको तारो बन्ने गरेको पाइएको छ ।

यस्तो न्युन आय भएका परिवारका महिलालाई गरिने व्यवहारका बारेमा यसअघि पनि बारम्बार मेक्सिकोका मानवअधिकारवादी सङ्घसंस्थाले प्रश्न गर्ने गरेका थिए ।

मेक्सिकोमा आयआर्जनका लागि महिलाले यौन पेसा पनि अपनाउने गरेका छन् । ती महिलालाई पनि प्रहरीले यसरी नै शोषण गर्ने गरेको उक्त प्रतिवेदनमा लेखिएको छ । रासस÷एएफपी