भारतबाट भित्रिने दस प्रतिशत वस्तु गुणस्तरहीन

453

भारतबाट भित्रिने दस प्रतिशत वस्तु गुणस्तरहीन

gas regulator

अच्युत रेग्मी/

काठमाडौँ, १४ असार । नेपाल गुणस्तर तथा नापतौल विभागले भारतबाट भित्रिने सामानमध्ये १० प्रतिशत गुणस्तरहीन रहेको जनाएको छ ।

विभागले गरेको अध्ययनअनुसार भारतबाट नेपाल भित्रिने सिमेन्ट, फलामको छड, रेगुलेटरलगायतका वस्तु कम गुणस्तर हुने गरेका छन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भारतबाट भित्रिएका सामान राम्रो भने पनि केही गुणस्तरहीन रहेको बताउनुभयो ।

विभागले यस आवमा ४० वटा उद्योगका वस्तु मापदण्ड पूरा नगरी सामान उत्पादन गरेको भेट्टाएको छ । गत आवमा ३४ वटा उद्योगले मापदण्ड पूरा नगरी सामान उत्पादन गरेका थिए । यसरी मापदण्ड पूरा नगरी उत्पादन गरेका उद्योगका वस्तुलाई इजाजत निलम्बन, विक्रि वितरणमा रोक लगाएको पुडासैनीको भनाइ छ ।

सुरुमा उद्योग मन्त्रालयअन्तर्गत एक छुट्टै कार्यालयका रुपमा स्थापना भएको नापतौल कार्यालय २०४४ सालमा नापतौल तथा गुणस्तर विभागको रुपमा स्थापना भएको हो । विभागले आफ्नो स्थापनाकालदेखि अहिलेसम्म विभिन्न १८० भन्दा बढी उद्योगबाट उत्पादित ६० वस्तुका ३०० सामानलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेकोे छ ।

विभागले हाल मुलुकभर आफ्नो मातहतमा ९ वटा गुणस्तर तथा नापतौल कार्यालयमार्फत सेवा दिइरहेको छ । विदेशबाट भित्रिने सामानलाई मध्यनजर राखेर नाका वरीपरिका क्षेत्रमा कार्यालय राखेर नापतौल र गुणस्तर नाप्दै आएको छ । त्यसमध्ये विराटनगर, जनकपुर, विरगञ्ज, वुटवल, पोखरा, काठमाडौँ, नेपालगञ्ज र धनगढी कार्यालयमार्फत कार्यालयले सेवा दिँदैआएको छ ।

हालसम्म विभागमा ग्यास सिलिण्डरको गुणस्तर र मापदण्ड नाप्नका लागि अत्याधुनिक मेसीन नभएकाले काम गर्न समस्या भएको छ । विभागका महानिर्देशक पुडासैनी हाल काम गर्न समस्या भएपनि चाँडै नै युरोपीयन युनियनले मेसीन सहयोग गर्न लागेकाले सहज हुने बताउनुहुन्छ । “छ महिनाभित्र मेसीन सञ्चालन गछौँ यसले गुणस्तर जाँच गर्न सजिलो हुन्छ,” उहाँले भन्नुभयो ।

गुणस्तरहिन वस्तुमध्ये ग्यासको रेगुलेटर अत्यधिक पाइएकाले विभागले रेगुलेटर जाँच गर्ने अत्याधुनिक मेसिन असारभित्रै निर्माण गर्न लागेको विभागले जनाएको छ । विभागमा आवश्यक कर्मचारी सङ्ख्या ९९ जना रहेपनि हाल ७० जनाले मात्र काम गर्दै आएका छन् । कर्मचारी अभावले समेत काम गर्न समस्या भएको छ ।

महानिर्देशक पुडासैनी कर्मचारी अभाव हुँदा जनताको चाहनाअनुसार काम गर्न नसकेको स्वीकार गर्नुहुन्छ । गुणस्तर जाँचको क्षेत्र धेरै रहेकाले कर्मचारी अभावका कारण हर्बल, ग्यास सिलिण्डर, कस्मेटिकलगायतका वस्तुको मापदण्ड परीक्षण गर्न नसकिएको उहाँले बताउनुभयो ।

विभागका उपमहानिर्देशक दिननाथ मिश्रले विभागले नापतौल र गुणस्तरमा नाप्न १० वटा ल्यावको प्रयोग गरिएको जानकारी दिनुभयो । गुणस्तरतर्फ केमीकल, फिजिकल, फुड, माइक्रोबाइलोजी र टेक्साइल रहेको छ भने नापतौलतर्फ मास, भलुम, टेम्प्रेचर, डाइभर्सन र प्रेसरका ल्याब रहेको छ । उक्त ल्यावले अहिले नापतौल र गुणस्तर प्रदान गर्दे आइरहेको बताइएको छ । रासस