गंगालाल दुई सय शैयाको बन्ने

485

गंगालाल दुई सय शैयाको बन्ने

काठमाडौँ, १४ असार । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र आगामी साउनबाट २०० शय्याको हुने भएको छ ।

बिरामीको चाप बढ्दै गएपछि १६० शय्या भएको अस्पतालमा ४० शय्या थप गर्न लागिएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिनुभयो । २०५२ सालमा स्थापना गरिएको अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् ।

सरकारले विपन्न, गरिब र मुटु रोगी भई उपचार गर्न नसक्ने अवस्थामा भएका बिरामीका लागि पनि अस्पतालमा सहुलियतको व्यवस्था गरेको छ । केन्द्रमा गरिब बिरामी भनी १५ वर्ष मुनिका बालबालिकाको मुटुको उपचार २०६४÷६५ सालमा ७१३ बिरामीको उपचार गरेको छ ।

त्यसैगरी, २०६५÷६६ मा ६२७, २०६६÷६७ मा ६४८, २०६७÷६८ मा ७७६, २०६८÷६९ मा ७२१, २०६९÷७० मा ६६१, २०७०÷७१ मा ६४७ र २०७१÷७२ सालमा ५५० जना बालबालिकाको मुटुको निःशुल्क उपचार गरेको छ ।

सरकारले १५ वर्षमुनिका कुनै पनि बालबालिका उपचार नपाएर मृत्युको मुखमा जानु नपरोस् भनी २०६३÷०६४ सालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

यस्तै, सरकारले आर्थिक वर्ष २०६४÷६५ मा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मुटु रोग लागेमा निःशल्क उपचार गर्ने व्यवस्था गरेको छ । २०६४÷६५ मा ६६ जना, ७५ वर्षभन्दा माथिको ज्येष्ठ नागरिकको उपचार गरेको प्रशासन प्रमुख खड्काले बताउनुभयो । सरकारले २०६४÷६५ देखि २०७१÷७२ सम्म एक हजार ८१ जना ज्येष्ठ नागरिकको उपचार गरेको जानकारी खड्काले दिनुभयो ।

आव २०६६÷६७ बाट मुटुको भल्ब साँघुरिएको बिरामीको उपचार पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेपछि २०६६÷६७ बाट आव २०७१÷७२ सम्म दुई हजार ३७२ बिरामीको मुटुको भल्ब साँघुरिएको भल्ब बेलुनद्वारा फुलाउने पिटिएमसी प्रविधिबाट उपचार गरिएको छ ।