ट्रेड युनियन समस्या समाधानका लागि सरकारलाई ज्ञापन पत्र बुझाउने

592

ट्रेड युनियन समस्या समाधानका लागि सरकारलाई ज्ञापन पत्र बुझाउने

बुटवल, १५ असार । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद रुपन्देहीको बैठकले बिभिन्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
परिषद रुपन्देहीको बुधबार बुटवलमा बसेको बैठकले श्रम कार्यालय बुटवलमा कार्यालय प्रमुख तथा कारखाना निरिक्षक बिहिन भएको लामो समय भएको र यस क्षेत्रको श्रम व्यबस्थापनमा कठिनाई भएको हुँदा कार्यालय प्रमुख र कारखाना निरिक्षक तत्काल व्यबस्था गर्न माग गरेको छ ।
त्यस्तैगरी सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनीधिहरुको बिचमा भएको सहमति अनुसार राजपत्रमा प्रकाशित व्यबस्था कार्यान्वयन गराउन माग गरिएको छ ।
सरकारले राजपत्रमा उल्लेख गरेको न्यूनतम ज्याला अधिकांश प्रतिष्ठानहरुमा कार्यान्वयन नभएकाले मजदुरका हकाधिकारकालागि सहमति कार्यान्वयनमा जोड दिईएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिनुभयो ।
सो बैठकले २०७२ माघ १८ गतेबाट लागु भएको थप तलव मासिक १ हजार ७ सय रुपैंया कार्यान्वयन गराउनकालागि दवाव मुलक कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ ।
बैठकले श्रम कानुन कार्यान्वयनकालागि श्रम कार्यालय, रोजगारदाता संघसंस्था र ट्रेड युनियनहरुको बिचमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । यस क्षेत्रमा देखा परेका श्रमसंग सम्बन्धित समस्या समाधानकालागि सबै ट्रेड युनियनहरु मिलेर सामुहिक पहल गर्ने पनि निर्णय गरिएको छ ।
बैठकमा नेपाल ट्रेड युनियन काँग्रेसको तर्फबाट रुपन्देही जिल्ला अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को तर्फबाट जिल्ला अध्यक्ष हुमाकान्त काफ्ले, अखिल नेपाल ट्रेड युनियन महासंघको तर्फबाट जिल्ला अध्यक्ष प्रेम घिसिङ् सहभागि हुनुहुन्थ्यो ।
त्यस्तैगरी बैठकमा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका उपाध्यक्ष ओमप्रकाश चौधरी, किशोर क्षेत्री पनि सहभागि हुनुहन्थ्यो ।