रोजाइका विषय अध्ययनबाट बञ्चित भएकोमा समाजको चिन्ता

341

रोजाइका विषय अध्ययनबाट बञ्चित भएकोमा समाजको चिन्ता

मणिग्राम, १५ असार । यस वर्षदेखि शुरू गरिएको एस.एल.सी. ग्रेडिङ् प्रणालीका कारण कोही फेल नहुने भनिएपनि करीब दुई लाख जना विद्यार्थीले आफ्ना रोजाइका विषय अध्ययनबाट बञ्चित भएकोप्रति नेपाल नागरिक समाज रूपन्देहीले चिन्ता व्यक्त गरेको छ ।
कक्षा ११ मा अध्ययन गर्न चाहेको समूहका लागि विशेष विषयमा डी र ई ग्रेड प्राप्त विद्यार्थी अयोग्य मानिने गरी मापदण्ड तोकिँदा त्यस्ता विद्यार्थीको रूचिबमोजिमको अध्ययन गर्ने मौलिक हकबाटै बञ्चित हुनुपरेको भन्दै समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यसैगरी, सी.टी.इ.भी.टी.ले पनि प्राविधिक विद्यार्थी भर्ना गर्ने क्षमता जम्मा २५ हजार जना रहेको बताइरहँदा बाँकी पौने २ लाख जना किशोर–किशोरीको अन्यौलताको अन्त्य गरिदिन सम्बन्धित निकायसँग समाजले आग्रह गरेको छ ।
समाजका अध्यक्ष बाबुराम भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “ग्रेडिङ्ग प्रणली आफैमा राम्रो भनिएपनि हतारमा गरिएको निर्णय तथा निर्धारित मापदण्डले सर्वसाधारणका छोरा छोरीहरुको शिक्षा प्राप्त गर्न पाउने मौलिक अधिकारको हनन् भएको ठहर गर्दै यस्ता गलत निर्णयहरुलाई तत्काल सच्याई एक पटकका लागि केबल जी.पी.ए. को आधारमा विद्यार्थीले चाहेको विषय पढ्न पाउने व्यवस्था गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।”