कपिलवस्तु, १६ असार । लुुम्बिनीस्थित कसाई होटलले कपिलवस्तुको तौलिहवास्थित बालगृहलाई १० लाख नगद रकम सहयोग गरेको छ ।
होटलका सञ्चालकसमेत रहेका जापानिज नागरिक तोकुशिन कसाईले बालगृह सञ्चालनका लागि विहीबार सो रकम प्रदान गरेको जनाउनुभयो ।
होटलका महा प्रवन्धक बिकेश मानन्धरले बालगृहकी संरक्षक तथा प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभयो ।
होटलका सञ्चालक कसाईको विगत दुई वर्षदेखिको इच्छानुसार बालगृहलाई सो रकम सहयोग गरिएको मानन्धरले बताउनुभयो । सहयोग गरिएको उक्त रकमले सदुपयोग र बालगृह सञ्चालनमा मद्दत मिल्ने उहाँले बताउनुभयो ।
त्यस्तै नेपाल बाल सङ्गठनका जिल्ला सभापति राजुप्रसाद अर्यालले आयस्ता कटौती हुँदै गएपछि बालगृह सञ्चालनमा कठिनाइ भएको बेलामा प्राप्त सहयोगले धेरै ठुलो सहयोग मिलेको बताउनुभयो ।
त्यस्तै उहाँले वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले पनि आफूले लेखेको पुस्तकको रोयल्टीबाट बालगृहलाई करिब रु दुई लाख सहयोग गरेको बताउनुभयो । अहिले कपिलवस्तु बालगृहमा १७ जना बेसहारा बालक आश्रित छन् ।