समसामयिक विषयमा सदनको ध्यानाकर्षण

405

समसामयिक विषयमा सदनको ध्यानाकर्षण

काठमाडौँ, १६ असार । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदहरुले राष्ट्रिय, क्षेत्रीय र जिल्लाका समसामयिक समस्याहरुबारे सरकारको ध्यान आकृष्ट गर्ने प्रयास गर्नुभयो ।
यस क्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गोर्खामा गएको पहिरोबाट हिजो छ वटा घर पूर्णरुपमा क्षति भएको हुँदा पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउन माग गर्नुभयो ।

उक्त पहिरो खसेर मनास्लु हिमाल आरोहण जाने बाटो पनि अवरुद्ध भएकाले बाटो खोल्ने काममा विशेष ध्यान पु¥याउन पनि सरकारलाई उहाँले सुझाव दिनुभयो ।

सांसद ऋषिकेश पोखरेलले मोरङको बक्राह र तेली खोलामा आएको बाढीले बगाएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँले ती दुवै खोलाले विभिन्न गाविसमा तटबन्ध भत्काएको हुँदा तत्कालै अरु थप क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गौरीशङ्कर चौधरीले हरेका वर्ष बाढी पहिरोबाट ठूलो परिमाणमा धनजनको क्षति हुने गरे पनि राज्यबाट समयमै सचेतना अपनाउने तथा आवश्यक पूर्वतयारीको काम हुन नसकेकोतर्फ सदनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद परशुराम तामाङले सत्यदेवीमा रहेको झोलुङ्गे पुल, झर्लाङ गाविसको अर्को पुल बगाएकाले वैकल्पिक व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले काठमाडाँै उपत्यकामा भूकम्पपीडितको लगत अझै सङ्कलन नगरिएको जनाउँदै तत्कालै पीडितलाई अनुदान सहयोग उपलब्ध गराउने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद हरिचरण शाहले सर्लाहीको मनुस्मारामा २५ वर्षदेखि सुरु भएको नहर निर्माण अहिले पनि अलपत्र अवस्थामा रहेको हुँदा तत्काल बनाउन विशेष पहल गरियोस् भन्नुभयो ।

सांसद जनकराज जोशीले लोकतान्त्रिक मधेसी मोर्चाले विगत नौ महिनादेखि संसद बहिष्कार गर्दै आएको बताउँदै उनीहरुको माग सम्बोधनका लागि समिति गठन गरेर अघि बढ्न सुझाव दिनुभयो ।

सांसद श्यामकुमार श्रेष्ठले सरकारले आन्दोलनरत दलहरुसँग सार्थक वार्ता नगरेको आरोप लगाउनुभयो ।

सांसद नारायणबहादुर कार्कीले बहुउद्देश्यीय आयोजनाअन्तर्गत उदयपुरका लागि छनोट भएको बाटोको मार्ग प्रधानमन्त्रीको आदेशमा परिवर्तन गरिएको भनी गुनासो गर्नुभयो ।

सांसद पार्वत गुरुङले दोलखामा बाढीबाट विद्युत् परियोजना र विद्यालय प्रभावित भएको हुँदा त्यहाँका जोखिमपूर्ण घर र बस्तीलाई जोगाउनेतर्फ ध्यान दिइयोस् भन्नुुभयो ।

सांसद देवकरणप्रसाद कलवारले सुस्तालगायतका क्षेत्रमा भारतीय सरकारको निर्देशनमा नेपालीलाई आफ्नो भोगचलनको जग्गामा खेती लगाउन रोक लगाएकाले त्यस विषयमा सरकारको ध्यान आकृष्ट गर्नुभयो ।

सांसद दिलशोभा पुनले कपिलवस्तुमा सशस्त्र प्रहरीका जवानले एक अबोध नारीलाई गरेको बलात्कारको घटनाको निन्दा गर्दै घटनाका दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही थाल्न माग गर्नुभयो ।

शून्य समय

व्यवस्थापिका–संसद्को शून्य समयमा सांसदहरुले गोर्खा सैनिकको सेवा सुविधाको मागदेखि लिएर वैदेशिक रोजगार कम्पनीलाई कारबाही गरिनुपर्नेसमेतका विषय उठान गर्नुभयो ।

उहाँहरुले अस्पतालमा दरबन्दीअनुसार डाक्टर पठाउन र भूकम्पपीडितको नाममा सहायता कार्यकर्तालाई पोस्ने प्रवृत्ति रोक्न सुझाव दिनुभयो ।

सांसद अइन्द्र सुन्दर नेम्वाङले गोर्खा सैनिकको माग सुनुवाइ नभएकाले सरकारले माग सम्बोधनका लागि पहल गरोस् भन्नुभयो ।
अर्का सांसद अनारकली मियाँले राप्ती अञ्चल अस्पतालमा ११ जना डाक्टरको दरबन्दी रहेकामा हाल तीन जना मात्र कार्यरत रहेकाले चिकित्सक खटाउन र श्यया थप्न माग गर्नुभयो ।

सांसद अनुराधा थापाले म्यानपावर व्यवसायीलाई युवा बेचबिखनको मुद्दामा कारबाही चलाउन तथा विदेशमा कामको सिलसिलामा दुर्घटनामा परेको श्रमिकको क्षतिको परिपूर्ति उनीहरुबाट नै भराउने व्यवस्था गर्न सुझाव दिनुभयो ।

सांसद अमरबहादुर थापाले दैलेखको जिल्ला अस्पतालको स्तरोन्नतिको माग गर्नुभयो ।

सांसद अमरसिंह पुनले भूकम्पपीडितको नाममा सहायता कार्यकर्तालाई पोस्ने प्रवृत्तिलाई रोक्न सरकारको ध्यानाकर्षण गराउँदै भूकम्पका लागि छुट्याइएको बजेट खर्च नभए त्यसलाई अन्य आयोजनामा लगाउनेतर्फ ध्यान पुगोस् भन्नुभयो ।

सांसद ईश्वरी न्यौपानेले भन्नुभयो – संविधानअनुसार शपथ लिएका मन्त्री सङ्घीयताको विपरीत अभिव्यक्ति दिन्छन् । सरकारले निर्वाचन घोषणा गरेको अवस्थामा सरकार किन जिम्मेवार हँुदैन । म प्रधानमन्त्रीसँग जवाफ माग्दछु ।

सांसद कमलप्रसाद पङ्गेनीले तरकारीमा विषादी रोक्न कृषकलाई सचेत पार्ने काम होस् भन्नुभयो । रासस