बुटवल, १६ असार । लुम्बिनी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेजको रुपमा विकास गर्ने प्रक्रिया मा अञ्चल अस्पताल सकारात्मक देखिएको छ । यो नागरिकको अभियानलाई अगाडि बढाउन अस्पताल प्रशासन सहमत भएको हो ।
साथै नागरिक अभियानले लुम्बिनी अञ्चल अस्पतालले सेवा शुल्क बृद्धि गरेको तथा अन्य विकासमा समेत ध्यान नदिएको भन्दै तत्त्काल सुधार गर्न समेत ज्ञापन पत्र बुझाएको थियो । अस्पतालले यसअघि अप्रत्याशित ढंगले बढेको शुल्कमा साउन १ देखि पुर्नबिचार सहित परिमार्जन गर्ने जनाएको छ । पश्चिम नेपालको प्रमुख क्षेत्र बुटवलमा रहेको अस्पताललाई स्तरबृद्धिसँगै मेडिकल कलेज बनाउन नागरिक स्तरबाट अभियान जारी रहेको छ ।
अभियानले अब पांच लाख जनाको हस्ताक्षर उठाउनका लागि आज रुपन्देहीको पश्चिम रुद्रपुरमा रजिष्टर हस्तान्तरण गरिएको छ । तयस्तेगरी शुक्रबार बुटवलको लुम्बिनी अञ्चल अस्पतालको मुल गेट तथा आकस्मिक कक्षमा बयानर सहित हस्ताक्षर गरिने कार्यक्रम रहेको लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नागरिक अभियानका अभियान्ता मुक्ति पौडेलले जानकारी दिनुभयो ।
मानिसहरुको जनघनत्व र अन्य पूर्वाधारको हिसाबले बुटवलमा सरकारी मेडिकल कलेज आवश्यक रहेको भन्दै लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरि मेडीकल कलेज बनाउन नागरिक अभियान थालिएको हो । सो अभियानले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि सो बारेमा जानकारी पनि गराएको थियो ।