डुटेर्तेले लिनुभयो राष्ट्रपतिको सपथ

561

डुटेर्तेले लिनुभयो राष्ट्रपतिको सपथ

मनिला, १६ असार । फिलिपिन्सको १६ औँ राष्ट्रपतिका रुपमा रोड्रिगो डुटेर्तेले सपथ लिनुभएको समाचार छ । उहाँले विशेष समारोहकाबीच बिहीबार राजधानी मनिलामा सपथ लिनुभएको हो ।

मनिलामा आयोजित यस कार्यक्रममा फिलिपिन्सको सर्वाेच्च अदालतका न्यायाधीशले उहाँलाई सपथ खुवाउनुभएको हो ।

उहाँले फिलिपिन्समा गत मे ९ मा भएको राष्ट्रपतीय निर्वाचनमा बहुमत ल्याउनुभएको थियो । यसरी उहाँ सो पदमा निर्वाचित हुनुभएको हो ।

उहाँ सत्तामा आएपछि फिलिपिन्समा शान्तिवार्ताको पनि तयारी गरिएको समाचारमा आएको थियो । उहाँले सपथ लिनु अगावै यहाँका विद्रोही कम्युनिष्टसँग शान्ति वार्ताका लागि पहल गर्नुभएको हो ।

एसियाकै एक लामो द्वन्द्वका रुपमा रहेको फिलिपिन्समा यहाँको सरकार र बिगत लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएको कम्युनिष्ट बिद्रोहीबीच शान्ति वार्ता हुने भएको यसअघि बताइएको थियो ।

सरकारले वार्ता गर्ने तयारीस्वरुप एक वार्ता समिति गठन गरेको छ । त्यसैगरी विद्रोहीद्वारा पनि गत महिना नै यस्तो समिति गठन गरिएको थियो । त्यसपछिदेखि नै सरकारी र विद्रोही दुवै पक्षले वार्ताको तयारी गरिरहेको जनाएका छन् ।

यसअघि सन् २०१३ मा गरिएको शान्तिवार्ता सफल हुन सकेको थिएन । नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले सो वार्तालाई पुनः सुरुगर्ने बताउनुभएको थियो ।

वार्ताको पहलस्वरुप नै दुवै पक्षबाट वार्ता टोली पनि गठन गरिएको र पहिलो चरणको वार्ता आगामी महिना नै गर्ने सहमति भएको थियो ।

फिलिपिन्सको हिंसात्मक बिद्रोह एसियाकै सबैभन्दा पुरानो हो । दशकौँदेखि जारी सो विद्रोहमा परी दशौँ हजार व्यक्तिको ज्यान गएको छ । तर पटक पटकका यसअघिका यस्ता शान्ति वार्ताहरु सफल हुन भने सकेका छैनन् । रासस÷एएफपी