दिनभर नारायणगढ–मुग्लिन सडक नखुल्ने

178

दिनभर नारायणगढ–मुग्लिन सडक नखुल्ने

चितवन, १७ असार । गएरातिदेखि निरन्तर भएको वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न चार स्थानमा ठूला पहिरो खसेपछि आज दिनभर सडक सञ्चालन नहुने भएको छ । सडक खण्डको चार किलो, पाँच किलो, जलवीरे र भालुढुङ्गामा माथिबाट ठूलो पहिरो खसेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताउनुभयो ।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको उहाँले जानकारी दिनुभयो । “पानी परिरहेको छ, माथिबाट पहिरो खसिरहेको छ पन्छाउने सम्भावना छैन । पानी रोकिएमा पहिरो पन्छाउने काम हुनेछ” – खनालले भन्नुभयो । उहाँका अनुसार अब वर्षात् रोकिएमा राति अबेरसम्ममा बाटो खुल्ने सम्भावना छ । बिहान ६ बजेबाट अवरुद्ध सडक ९ बजे केहीबेरका लागि खुलेको भए पनि पुनः ती ठाउँमा पहिरो खस्न थालेपछि पहिरो पन्छाउन नसकिएको उहाँले बताउनुभयो ।

ठाउँठाउँमा पहिरो खसिरहेकाले सुरक्षित ठाउँमा बस्न वा वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ जान आयोजनाले सबैमा आग्रहसमेत गरेको छ । बिहानदेखि सडक अवरुद्ध बनेपछि सडकको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । जोखिममा परेका यात्रु अलपत्र अवस्थामा रहेका छन् ।