अझै केही दिन निरन्तर वर्षा

274

अझै केही दिन निरन्तर वर्षा

काठमाडौँ, १७ असार । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका विभिन्न भागमा छजनाको मृत्यु हुनुका साथै धनजनको क्षति भएको छ ।

गृहमन्त्रालयका अनुसार पहिरोबाट सुदूरपश्चिमको दार्चुलामा तीन, ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलको पर्खाल भत्किएर दुई र सर्लाहीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पुष्पाञ्जली स्कुलको पर्खाल भत्किएर अन्य २० जना विद्यार्थी घाइते भएका छन् ।

त्यसैगरी पहिरोका कारण दार्चुलामा तीन र बैतडीमा तीनवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने धादिङ जिल्लाको रि गाविस–९ मा पहिरोको जोखिमा परेका छ परिवारका १९ जनालाई हेलिकप्टर र पैदमार्गबाट उद्धार गर्ने प्रयास भए पनि प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भएको मन्त्रालयले जनाएको छ ।

यस्तै नारायणगढ मुग्लिङ सडक र भरतपुर माडी सडक पहिरो र बाढीका कारण अवरुद्ध हुन पुगेको मन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकालले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभाग, मौसमपूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय भएकाले मुलुकमा अधिकांश जिल्लामा अझै केही दिन निरन्तर वर्षात भइरहन सक्ने सम्भावना भएकाले सतर्क अवस्थामा रहन र त्यसका लागि आवश्यक पूर्वतयारी गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ ।

न्यून चापीय रेखाको सक्रियताले मुलुकभर वर्षा

मनसुन न्यून चापीय रेखाको प्रभावसँगै उच्च वायुमण्डलमा न्यून चापीय रेखा पश्चिमतर्पm केन्द्रित भएका कारण देशका अधिकांश भागमा बद्ली हुनुका साथै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यून चापीय रेखाको प्रभावसँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको गति केही बढेकाले मुलुकभर बद्लीसँगै वर्षात् भएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुन न्यून चापीय रेखा पश्चिम नेपालमा नजिक छ, भारतको पञ्जाब, हरियाणा र छत्तिसगढ हुँदै बङ्गालको खाडीसम्म गएको छ, उक्त मनसुन रेखा नेपालको पश्चिम क्षेत्रसँग केही नजिक हुँदा बढी वर्षात् भएको छ ।

आइतबारबाट केही कम हुने भए पनि मनसुन न्यून चापीय रेखा पुनःउत्तरतर्फ आउने भएकाले मनसुन केही दिन सक्रिय हुने मौसमविद् रिमालको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज सबैभन्दा बढी भैरहवामा ९२, डडेलधुरामा ८२, सिमरामा ६९, धनगढीमा ३९ र सबैभन्दा कम जुम्ला र वीरेन्द्रनगरमा ३–३ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा २३ मिलिमिटर वर्षात् भएको छ । यो वर्षको मनसुन सुरु भएयता बिहीबार सबैभन्दा धेरै ९५ प्रतिशत वर्षात् भएको थियो ।

आज काठमाडौँ उपत्यकाको अधिकतम २८.४ र न्यूनतम २१ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।