बुटवल, असार । युनिभर्सल पावर कम्पनीले रुपन्देहीको बुटवलमा शेयर प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ । बुटवल उद्योग बाणिज्य संघको साझेदारीमा शनिबार बुटवलका उद्योगी व्यबसायीलाई सो कम्पनीको शेयर बिक्रि सम्बन्धी जानकारी सहित शेयर खुला रहेको जानकारी गराएको हो ।
सो कम्पनीले दोलखाको सुरी, चंखु र खारे गाबिसमा ११ मेघावाट क्षमताको तल्लो खारे खोला जलबिद्युत आयोजना सञ्चालन गर्दैछ ।
सो कम्पनीका अनुसार २ अर्व ४ करोड रुपैंयामा निर्माण गर्न लागिएको जलविद्युत आयोजनाको तीन वर्ष भित्रमा निर्माण पुरा हुनेछ । परिवर्तनीय अग्राधिकार शेयर मोडलमा लगानी खुला गरेको सो कम्पनीको शेयर खरिदका लागि कम्तीमा एक लाख रुपैंया लगानी गर्नुपर्ने कम्पनीका वित्त व्यबस्थापक प्रभुलाल अधिकारीले जानकारी दिनुभयो । यो कम्पनीमा लगानी गर्दा वार्षिक ७.५ प्रतिशतका दरले निर्माणकै अवधिमा शेयर प्रतिफलको रुपमा दिईने भएकाले यसमा लगानी गर्नु उपर्युक्त हुने उहाँ बताउनु हुन्छ ।
यो कम्पनीले यस अंगाडी पनि लमजुङ्को राधी ४.४ मेघावाट, खुदी ४ मेघावाट र स्याङ्गे १ सय ८३ वाटको जलबिद्युत आयोजना पुरा गरिसकेको छ भने दोलखाको तल्लो खारे खोला सहित लमजुङ्कै दोर्दी १०.३ मेघावाट, रुकुमको रुकुमगढ ५ मेघावाट र शंखुवासभामा कसुवा खोला ४५ मेघावाटको जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् ।
यस कम्पनीमा लगानी गर्न चाहनेले यहि असार महिना भित्रै लगानी गरिसक्नु पर्ने कम्पनीले जनाएको छ । लगानीकर्ताका जिज्ञासालाई कम्पनीका अर्का बित्त व्यबस्थापक श्याम खड्काले सम्बोधन गर्दै कम्पनी र कम्पनीले अँगाडी सारेका जलबिद्युत आयोजनाको बारेमा बिस्तृत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले मुलुकको आर्थिक बिकासको मेरुदण्ड कृषि, उर्जा, उद्योग र पर्यटन रहेकाले यी क्षेत्रमा लगानी अभिबृद्धि गर्ने खालका कार्यक्रमलाई संघले प्राथमिकताकासाथ प्रवद्र्धनात्मक कार्यक्रम गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले मुलुक उर्जा संकटले लथालिङग हालतमा पुगेको उल्लेख गर्दै जलविद्युतमा हुने लगानीले मुलुकमा अन्य बिकासका पूर्वाधारको समेत पुर्वाधार सावित हुने बताउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष खेमबहादुर हमाल, महासचिव हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरी कुवँरलगायतले जलविद्युतमा लगानी अपरिहार्य रहेको उल्लेख गर्नुभएको थियो ।