बुटवल, १८ असार । बुटवलमा निःशन्तान दम्पतीका लागि उपचार सेवा सुरु भएको छ । चार बर्षदेखि संचालनमा रहेको लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.लि. बुटवलले निःशन्तान दम्पतीको लागि उपचार सेवा शुरु गरेको हो । आज अस्पतालले टेस्ट ट्यूब सेवा संचालन गरेको हो ।
प्रालिका अध्यक्ष गोपालबहादुर पोखरेलले पश्चिमी क्षेत्रमा पहिलो पटक निःशन्तान दम्पतीको लागि उपचार सेवा विस्तार गरिएपछि यसक्षेत्रका नागरिकलाई सहज सेवा लिने बाटो खुलेको बताउनुभयो । सेवा शुभारम्भ कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा.प्रकाश बुढाथोकीले स्वास्थ्य सेवालाइ सहज र सरलढंगले जनतामुखि बनाउनका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य अधिकृत टंक चापागाइले रुपन्देहीमा स्वास्थ्य क्षेत्रले पनि फड्को मार्दै गएको बताउनुभयो ।
कार्यक्रममा प्रालिका मेडिकल सुपरिटेण्डेन्ट डा. गोकर्णराज पन्थी, स्त्री तथा प्रशुतीरोग बिशेषज्ञ डा. प्रदिप कुमार श्रीवास्तव, बालरोग बिशेषज्ञ डा.मनोज कुशवाह, लेखा अधिकृत गोबिन्द थापा लगायतले बोल्दै यसक्षेत्रमा पहिलो पटक आरम्भ गरिएको सेवालाइ प्रभाबकारी बनाइने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । लुम्बिनी मेडिकल कलेज पाल्पा शाखाको रुपमा लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.लि.बुटवलमा स्थापना भएको हो ।
अस्पतालले हालसम्म ल्याप्रोस्कोपी सर्जरी, हाडजोर्नी, फिजिसियन, नाककान घाँटी, बालरोग, महिला तथा प्रशुतीरोग सम्बन्धि सेवा दिदै आएको छ । अस्पतालमा नवजात शिशुहरुको लागि कठीन अवस्थामा उपचार गर्न एनआइसियू तथा पिआइसियू सेवा समेत सञ्चालन भएको छ । बच्चाहरुलाई भेन्टिलेटर सहितको एनआइसियू सेवा पनि यस क्षेत्रमै पहिलो पटक सुरुवात गरिएको प्रालिले जनाएको छ ।