सहमतिका लागि एमाले तयार : खनाल, एक ठाउँमा आउनु अपरिहार्य :सिटौला

450

सहमतिका लागि एमाले तयार : खनाल, एक ठाउँमा आउनु अपरिहार्य :सिटौला

काठमाडौँ, १९ असार । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका लागि छलफल गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताउनुभएको छ ।

एमालेको स्थायी कमिटीले नै सो प्रस्ताव पारित गरिसकेको उल्लेख गर्दै उहाँले यसबारे जस्केलामा नभई मझधारमै आएर छलफल गर्न आग्रह गर्नुभयो ।

व्यवस्थापिका–संसद् परिसरमा नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको सन्दर्भमा आज सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनमा सहजताका लागि राष्ट्रिय सहमतिको सरकारले राम्रो वातावरण निर्माण गर्नेछ, त्यस्तो सरकारको नेतृत्व गर्न वा त्यसबारे छलफल गर्न एमाले जहिले पनि तयार छ ।”

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा सहमतिका लागि दलहरू एक ठाउँमा आउनु अपरिहार्य भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान जारीसँगै संविधानले निर्दिष्ट गरेका स्थानीय, प्रदेश र केन्द्रीय तहका निर्वाचन सम्पन्न गर्न, भूकम्पपछिको पुनःनिर्माण र देशको आर्थिक समृद्धिका लागि राष्ट्रिय राजनीतिमा सहमतिको विकल्प नभएको बताउनुभयो ।

“निर्वाचनका लागि सर्वप्रथम कानुन आवश्यक हुन्छ, उक्त कानुन दलहरूको सहमतिबिना बन्न सक्दैन,” उहाँले भन्नुभयो, “वर्तमानमा राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण बन्न सकेको छैन, विश्वास कायम गराउँदै राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्छ ।”

भूकम्पपछिको पुनःनिर्माण भूकम्प गएको १५ महिनासम्म पनि अघि बढ्न नसक्नु दुःखद् कुरा भएको बताउँदै उहाँले भन्नुभयो, “सही लगतको आधारमा पीडितलाई सरकारले तत्काल सहयोग रकम उपलब्ध गराउनुपर्छ, भूकम्पपछिको पुनःनिर्माण राजनीतिक मुद्दा बनाइनु हुँदैन, त्यसमा काँग्रेसका तर्फबाट हामी सहयोग गर्न तयार छौं ।”

वर्तमानमा सत्ता प्राथमिकताको विषय नभै राष्ट्रिय राजनीतिमा सहमतिका आधारमा संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण राष्ट्रको प्राथमिकता बन्नुपर्नेमा उहाँको जोड थियो ।

निर्वाचन सम्बन्धी कानुन बनिनसकेको अवस्थामा सरकारले भने झैँ मङ्सिरमा निर्वाचन हुन असम्भव रहेको बताउँदै नेता सिटौलाले निर्वाचनका लागि दलहरू एक ठाउँमा आएर त्यस सम्बन्धी कानुन निर्माण गरी अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा उक्त पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।