सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह एकमत

439

सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह एकमत

sugauli sandhiकाठमाडौँ, २१ असार । नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्विपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ । बैठकपछि नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापालले भन्नुभयो, “ विभिन्न समयमा नेपाल–भारतबीच उठेका सबै विषयले बैठकमा प्रवेश पाएको छ, कुनै पनि विषय छुटेका र छाडिएको छैनन् ।” तर उहाँले दुई देशकाबीचमा कुनकुन कुरा उठेको थियो खुलाउन चाहनु भएन ।

नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरावलोकन गरी सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको बैठक सोमबारदेखि यहाँ सुरु भई आज सकिएको हो । बैठक सकिनासाथ दुवै देशका समूहका आठ सदस्य ‘यु’ आकारमा बसी सञ्चारकर्मीसित हँसिलो मुद्रामा प्रस्तुत भएका थिए । सुरुमै संयोजक डा थापाले नेपाल–भारतबीचमा समूह अलगअलग होइन, समूहमा रहनुभएका सदस्यका समान हैसियत भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाल–भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन बैठकमा दुवैतर्फबाट थप अध्ययन गरी अगामी बैठकमा प्रस्तुत गर्ने सहमति भएको जानकारी दिनुभयो । बैठकले समूहको अर्काे बैठक तीन महिनापछि भारतको राजधानी नयाँ दिल्लीमा बस्ने निर्णयसमेत गरेको छ ।

समूहलाई दिइएको कार्यादेशका बुँदामा बैठकमा प्रवेश गरी अगामी बैठकमा यसकाबारेमा दुवै देशले विस्तृत अध्ययन गरी प्रस्तुत हुने सहमतिसमेत भएको डा थापाले जानकारी दिनुभयो । समूहलाई दिइएको कार्यादेशमा दुवै देशबीचमा भएका सन्धि सम्झौताको अध्ययन, व्यापार तथा पारवहन, सूचना प्रविधि, विकासलगायतका क्षेत्रको अध्ययन गरी सुझाव दिने रहेको बताइएको छ । सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले भन्नुभयो, “दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन हामी बीचमा सौहाद्रपूर्ण रुपमा छलफल भयो ।” संयोजक डा थापाले बैठकमा दुवै देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन एकमतका साथ काम गरी सम्बन्धको नयाँ खोजी गर्न समूहमा छलफल भएको बताउनुभयो ।

दुवै मुलुकबीचको सम्बन्धको समीक्षा भयो : कोसियारी

पत्रकार सम्मेलनमा भारतको प्रबुद्ध समूहका संयोजक एवम् उत्तराञ्चल प्रदेशका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीले समूहको छलफलमा दुवै मुुलुकबीचको सम्बन्धको समीक्षा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल–भारतबीच सन् १९५० को सन्धिपछि कर्णाली र कोसीका नदीमा कति पानी बगे होलान ? परिवारमा त असमझदारी हुन्छ । हाम्रो समूहको बैठकले दुई देशकाबीच कहीँकतै असमझदारी भएमा यसको खोजी गरी समाधान गर्न दुवै देशका सरकारलाई सुझाव दिनेछ ।”

हिन्दी र अङ्ग्रेजी दुवै भाषामा आफ्नो भनाइ राख्नेक्रममा समूहका संयोजक कोसियारीले नेपाल समृद्ध र खुसी भएको भारत र भारतीय जनताको सधँै चाहना रहने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समूहलाई लक्ष्मणरेखाले बाँधिएको छ, रेखालाई नाघेर कुनै सुझाव दिने अधिकार हामीलाई छैन, समूहलाई दिएको कार्यादेशको अधिनमा रही काम गर्छौंैै ।”

संविधानसभामार्फत बहुमतले जारी गरेको नेपालको संविधानलाई भारतले किन समर्थन नगरेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा संयोजक कोसियारीले म राजनीति व्यक्तित्व हुँ तर यो विषय समूहको कार्यादेश बाहिर रहेको छ भन्नुभयो । नेपाललाई आफूहरूले असल छिमेकीका रूपमा लिएको र नेपालमा भारतले सधैँ राजनीतिक स्थिरता र प्रगति हेर्न चाहेकाले यसका कुनै शङ्का आशङ्का राखिराख्नु हुन्न पूर्वमुख्यमन्त्री कोसियारीले सञ्चारकर्मीलाई जवाफ दिनुभयो ।

समूहमा नेपालकातर्फबाट डा थापाको संयोजकत्वमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य र सांसद डा राजन भट्टराई रहनुभएको छ । त्यस्तै भारतका तर्फबाट पूर्वमुख्यमन्त्री कोसियारीको संयोजकत्वमा जयन्त प्रसाद, महेन्द्र पी लामा र बिएस उप्रेती रहनुभएको छ । भारतका तर्फबाट बैठककमा सहभागी महेन्द्र पी लामाले दुवै मुलुकबीच अहिले भइरहेको सन्धि सम्झौतालाई पुनरावलोकन गरी कस्तो रुपान्तरण ल्याउन सकिन्छ भनेर समूहले खोजी गर्ने सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले भन्नुभयो, “दुवै देशकाबीच २१औँ शताब्दी अनुकूल हुने गरी सम्बन्धको नयाँ उचाइ खोजी गरिने, यो उचाइ विश्वका लागि उदाहरण बन्न सकोस् ।”

भारतका तर्फबाट बैठकमा सहभागी जयन्त प्रसादले जनताको स्तरमा सुदृढ रहेको दुई देशको सम्बन्धलाई नयाँ आयमका रुपमा विकसित गरिनुपर्ने धारणा राख्नुभयो । समूहको कार्यकाल दुई वर्षको छ । समूहको पहिलो बैठक भएकाले यसमा हुने छलफललाई निकै चासोका रुपमा हेरिएको थियो । बैठकले आफ्ना छलफलको विधि र कसरी अघि बढ्ने भन्ने सम्बन्धमा निर्णयसमेत गरेको हुँदा बैठक निकै सफल भएको उहाँहरुले प्रतिक्रिया दिनुभयो । रासस