महामन्त्री डा . कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार

358

महामन्त्री डा . कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार

sasanka koiralaकाठमाडौँ, २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाका स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमशः सुधार आएपछि आज अपराह्न ३ बजेपछि उहाँलाई सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ ।

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन ओम अस्पतालमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक डा लव जोशीले भन्नुभयो, “अहिले उहाँ आफैँ श्वास लिइरहनुभएको छ र पूर्ण होसको अवस्थामा हुनुहुन्छ ।” महामन्त्री कोइरालालाई कुनै सङ्क्रमण नहोस् भनेर अस्पतालले आइसियूभित्र चिकित्सकबाहेक अन्यलाई जान बन्देज लगाएको छ ।

उहाँको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भए पनि अझै खतरामुक्त भन्न नमिल्ने डा जोशीको भनाइ थियो । मङ्गलबार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा कोइराला ओम अस्पतालमा भर्ना हुनुभएको थियो । रासस