गृहमन्त्रीले सदनमा के भने ?

535

गृहमन्त्रीले सदनमा के भने ?

shakti basnetकाठमाडौँ, २४ असार । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा जनतालाई स्थानीय तहमा एकीकृत सेवा पु¥याउन इलाका प्रशासन कार्यालय विस्तारको प्रयास भइरहेको बताउनुभएको छ ।

विनियोजन विधेयक–२०७३ अन्तर्गत गृहमन्त्रालयमाथिको शीर्षकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले सांसदहरुको सुझावलाई दृष्टिगत गरी साधन स्रोतले भ्याएसम्म इलाका प्रशासन कार्यालय विस्तार गरेर लैजान सरकार दृढ रहेको उल्लेख गर्नुभयो ।

जिल्ला प्रशासनले माग गरेर पठाएको प्रहरी चौकीको स्थापना र स्तरोन्नति हेर्ने हो भने निकै ठूलो जनशक्तिको आवश्यकता देखिन्छ भन्दै उहाँले आवश्यकतालाई पनि प्राथमिकीकरण गरेर अघि बढिरहेको उल्लेख गर्नुभयो ।

‘‘भौतिक पूर्वाधार र व्यवस्थापन गर्नुपर्ने जनशक्तिसहितको विषयलाई समावेश गरेर कारागार सुधार कार्ययोजना अघि बढाएको जानकारी दिँदै बन्दीको चापलाई ध्यान दिएर स्रोत साधनको समेत व्यवस्था गर्ने प्रयास भइरहेको छ’’ – उहाँले भन्नुभयो ।

गृहमन्त्रालय मातहतका कर्मचारीको सरुवा र पदस्थापनलाई कार्यतालिका बनाएरै अघि बढाउने काम भइरहेको बताउँदै गृहमन्त्रीले जिल्ला प्रशासन कार्यालयलाई प्रविधियुक्त र जनतामैत्री बनाइने दृढता व्यक्त गर्नुभयो ।

सांसदहरुले राख्नुभएको जिज्ञासाले गृहमन्त्रालयका लागि थप बजेटको व्यवस्था र कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यक्षेत्रका विषयमा उठेका प्रश्नलाई आवश्यकताका आधारमा व्यवस्थापन गर्न मन्त्रालय दृढ रहेको बताउँदै उहाँले राष्ट्रिय अनुसन्धान विभागलाई आधुनिक र राष्ट्रिय आवश्यकताअनुरुप बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।